arrow

विद्युत् खपत बढाउन प्राधिकरणको पहल, प्रसारण क्षमता सुदृढ गरी तत्काल विद्युत् आपूर्ति दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
elec-urja.JPG

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठुला उद्योगहरूलाई मागे जति विद्युत् उपलब्ध गराउन निर्माणाधीन प्रसारण तथा वितरण लाइन र सब स्टेसन आयोजनाहरूको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ । 

प्राधिकरणले विद्युत् खपत बढाउन योजनावद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाएको छ ।प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीहरुलाई मागेअनुसार विद्युत् उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो ।

तत्कालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत  विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका लाइन तथा सब स्टेसन निर्माण सुरु गरिने छ ।

उद्योगीहरूले मागे जति विद्युत् नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार र आइतबार हेटौडा, सिमरा, वीरगन्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक कोरिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालनमा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टेसनहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् । त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सब स्टेसन आयोजनाहरू निर्माणाधीन छन् ।

कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखहरूसँग आयोजनास्थलमै छलफल गरी निर्माणमा देखिएका समस्या र समाधानका उपायकारबारेमा छलफल गरेका छन् । ‘एकतर्फ देशभित्र उत्पादित विद्युत् खपत गर्न नसकी दैनिक रूपमा लाखौँ रुपैयाँ खेर फालिरहेका छौँ भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योगहरूलाई मागे जति विद्युत् दिन सकिरहेका छैनौँ, यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौँ’, घिसिङले भने । 

‘निर्माणाधीन आयोजनाहरू  सम्पन्न भएपछि उद्योगहरूलाई मागेअनुसार विद्युत् दिन सकिन्छ भने आम उपभोक्ताले गुणस्तरीय, विश्वसनीय विद्युत् पाउने छन्, चुहावट घटाउन घट्ने छ, प्रसारण क्षमता सुदृढ हुनेछ ।’ उनले विद्युत् खपत बढाउनु पर्ने अहिलेको  चुनौतीपूर्ण अवस्थामा आयोजनाहरूको काम समयमै सम्पन्न गरी सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरे ।

सिमरा र वीरगन्ज क्षेत्रका उद्योगहरूको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौडा-परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको छ । यो काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत् आपूर्ति दिन सकिने छ । निर्माणाधीन हेटौडा-ढल्केर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सब स्टेसन निर्माण गर्ने र अमलेखगञ्जमा रहेको सबस्टेसनबाट थप फिडर निकाली विद्युत् आपूर्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गर्नु भएको छ । यसका लागि अध्ययन गरी प्रस्ताव पेस गर्न उनले निर्देशन दिएका छन् ।

नवलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि सुनवलमा १३२-३३ केभी सब स्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘सब स्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट  विद्युत् उद्योगहरूलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनीय हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने । त्यस क्षेत्रमा सञ्चालित उद्योगहरूले क्षमता थप्न लागेको र नयाँ उद्योगहरू पनि खुल्न लागेकोले विद्युत्को माग उच्च रहेको छ ।

रुपन्देहीको भैरहवा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२-३३-११ केभी सब स्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । कोभिड-१९ का कारण चिनियाँ प्राविधिकहरू आउन नसक्दा सबस्टेसनको परीक्षण हुन सकेको छैन । सब स्टेसन सञ्चालनमा आएपछि थप ९० विद्युत् आपूर्ति दिन सकिने छ ।

होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत्
चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने भएको छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिन लागिएको छ । भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको बिच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत् आपूर्ति दिन लागिएको हो ।

कार्यकारी निर्देशक घिसिङले उद्योगका पदाधिकारीहरूसँग छलफल गरी तीन महिनाभित्र विद्युत् आपूर्ति दिन सकिने भएकाले सोही अनुसार आवश्यक तयारी गर्न आग्रह गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने  घोषणा अनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ ।

उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङशीलाई मात्रै करिब ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण  बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ