arrow

एमालेकी शिक्षिकाः विद्यालयमा हाजिरी जनाउँदै पार्टीको भाषणमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
uml-teacher-bara.jpg

निजगढ । शिक्षकले राजनीतिक दलको कार्यक्रममा गएर भाषण गर्न नपाइने नियमको निजगढमा पालना नभएको पाइएको छ । निजगढको सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षिका अन्जु नेपालीले खुलेआम रुपमा राजनीतिक दलको कार्यक्रममा भाषण गरेकी छिन् । 

उनी विद्यालयको हाजिरी पुस्तिकामा हाजिरी गर्दै नेकपा एमालेको कार्यक्रममा भाग लिँदै हिँडेकी हुन् । निजगढको भरतगंज सिंगौलमा नेकपा एमाले निजगढ नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शिक्षिका नेपालीले सार्वजनिक मंचमा नै पार्टीको पक्षपोषण गर्दै भाषण गरेकी हुन् । 

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै शिक्षिका नेपालीले आगामी चुनावमा नेकपा एमालेलाई विजयी बनाउन सार्वजनिक रुपमा अपिल गरिन् । 

निजगढ वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विध्यालयमा कार्यरत प्रावि राहत शिक्षिका नेपाली उक्त दिन (भदौ ४ गते) विद्यालयको हाजिरी पुस्तिकामा हाजिर जनाई विद्यार्थीहरुलाई पढाउन छाडेर सयौं कार्यकर्ता माझ भाषण गर्न पुगेकी थिइन् ।  विद्यालयको हाजिरी पुस्तिकामा हाजिर जनाई विद्यालयमा बस्दै नबसी पार्टीको कार्यक्रममा सहभागिता जनाएपछि विद्यालयको समेत चरम लापरवाही देखिएकोछ । 

विद्यालय प्रशासनले यस्ता गतिविधि गर्ने शिक्षक शिक्षिकाहरुलाई कारबाही गर्नुपर्ने भए पनि उल्टै ढाकछोप गरिरहेको छ । शिक्षिका नेपालीले विद्यालयको हाजिरी पुस्तिकामा हाजिरी जनाएरै राजनीतिक दलको भाषण गर्दै हिँडेपछि निजगढका सरोकारवालाहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । 

पार्टीको सक्रिय राजनीति गरेर हिँड्ने शिक्षक शिक्षिकाहरुलाई बर्खास्त गर्नुपर्ने विद्यार्थी तथा अभिभावकहरुले विद्यालय समक्ष माग गरेका छन् ।

उनीहरुले ‘एमालेकी शिक्षिका बनेर पार्टीलाई पढाउन गए हुन्छ हाम्रा छोराछोरीलाई हैन’ भनेर बर्खास्तीको माग गरेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ