- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने प्रयास भएको जिकिर गरे ।
उनले ललिता निवास प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको बताए । मुद्दा चलाउँदा पनि निष्पक्ष नभएको र छानीछानी मुद्दा चलाइएको बताए । छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र भएपनि राजनीतिक दबाबमा परेर पूर्वाग्रह राख्ने काम भएको उनको भनाइ थियो ।
‘छानीछानी मुद्दा चलाइएको छ । काखा र पाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ’ उनले भने ।
मुद्दामा विषयमा स्पष्ट पार्दै गच्छदारले सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको बताए । साथै उक्त प्रस्ताव मन्त्रिपरिषदबाट सर्वसम्मत निर्णय भएको उनले जानकारी दिए ।
अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट ओझेल परेका भएका गच्छदार गत ३० असारमा विशेष अदालतबाट १० लाख धरौटीमा छुटेका थिए ।
पत्रकार सम्मेलनका क्रममा उपसभापति गच्छदारले व्यक्तिगत रुपमा लाभ लिने वा सरकारलाई हानी पुर्याउने उद्देश्य आफ्नो नभएकोले सरकारको गुरुयोजना पेस गर्नु भ्रष्टाचार हुन नसक्ने जिकिर गरे । संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको पनि बताए ।