arrow

केपी ओलीलाई संसद्सँग घृणा छ : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
gagan-thapa-congress.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण संसद्मा अवरोध सिर्जना गर्ने गरेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापालेसंसद्प्रति ओलीको घृणा सिङ्गो नेकपा(एमाले)मा पनि पुगेको भनेका हुन्। उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए । 

उनले भने – ‘केपी शर्मा ओलीलाई संसद्सँग घिन लाग्छ, उहाँलाई संसद् देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभयो । संसद्लाई बेवास्ता गर्नुभयो । पटक–पटक भङ्ग गर्नुभयो । अहिले संसद् पुनर्स्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पङ्गु बनाउनुभएको छ । अहिलेको हरकत हेर्दै गर्दा सिङ्गो नेकपा(एमाले) लाई संसद् प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरूले संसद्मा आफ्नो भूमिका समेत निर्वाह गर्न नपाएको बताएका छन् । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाई छ । 

महाधिवेशन समयमै हुनेमा अन्यौलता 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्यौलता भएको बताएका छन्। बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुङ्ग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए । 

मङ्सिर मा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरूलाई दिएको जिम्मेवारी नेताहरूले पुरा नगरी जबाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरेका छन्। 

उनले भने – ‘महाधिवेशन बारेको जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ । महाधिवेशनको १३ जिल्ला जुन बाँकी छ, १३ जिल्लाको सदस्यताका कुराहरू टुङ्ग्याउने कुरा तत्काल आजभोलि गरिएन र यो तिथि मिति सार्दै जाने, जति सारे पनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ । मङ्सिर मा महाधिवेशन हुन्छ भन्ने कुरा ढुक्क भएर भन्न सक्ने अवस्थामा म छैन ।' 

उनले अगाडि भने 'महाधिवेशनको तिथि मिति सार्ने कुरा अब पार्टीको नेताहरूले आउन दिनुहुन्न । त्यो अप्ठ्यारो आउन दिनुहुन्न भन्ने लागिरहेको थियो तर जुन हल्का ढङ्गले महाधिवेशनको बारेमा एउटाले सारौँ भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइदिए पनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठक पनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ? जबाफदेहिता बिनाको राजनीति पार्टीभित्र भएपछि यस्तो अवस्था भएको हो । अहिले यसलाई अन्त्य गरिएन भने यो अनन्त कालसम्म यसरी जान सक्छ । यसले हाम्रो अधिवेशनलाई थप अनिश्चित बनाएको छ ।’

 



नयाँ