व्यवसायीका सङ्घसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : वरिष्ठ उपाध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
946
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सङ्घ-संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रूपमा लिन नहुने बताएका छन्।
सप्तरी उद्योग वाणिज्य सङ्घको ११औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासङ्घसहित जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्ट देखि नै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए।
आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्व उपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू सङ्घको साधारण सभामा आएको उल्लेख गर्दै निर्वाचनले एक जनालाई मुख्य जिम्मेवारी दिए पनि अर्को जनाको आवश्यकता र भूमिका जरुरी हुने बताए।
ढकालले महासङ्घसहित जिल्ला नगर उद्योग वाणिज्य सङ्घमा निर्वाचनबाट नेतृत्व चयन भए पनि आर्थिक मुद्दामा एक ढिक्का हुनुपर्ने बताए। सङ्घका साधारण सभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ। साधारण सभामा आमन्त्रित व्यवसायीसँग बिटूबी लगायतका कार्यक्रम गर्न पनि उनले सुझाव दिए।
वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरूले ७७ जिल्लाकै व्यवसायीलाई महासङ्घको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासङ्घ पदाधिकारी र काठमाडौँका ठुला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरूले गरिरहेको बताए। महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरु गरेको उल्लेख गर्दै उनले १ वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए।
आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले चन्द्रागिरिको पर्यटन पूर्वाधारको सफलतासँगै सात वटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरू जुटेको जानकारी दिए।