arrow

चाडपर्वलक्षित गरी उपत्यकाको सुरक्षा प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
grih.jpg

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले मङ्गलवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई एक ठाउँ राखेर नागरिकले अनुभूति गर्ने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । ‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्‍यो, नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन,’ मन्त्री खाँणले भने ।

मन्त्री खाँणले परिवर्तनको परिणाम देखिने गरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन आग्रह गर्दै योजना व्यवहारमा कार्यान्वयन हुने किसिमको हुनु पर्ने बताए । ‘जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षहरूमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्‍यो, प्रहरी र निजामती कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिनपर्‍यो ।’ खाँणले भने ।

बैठकमा उपत्यकाका काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए ।

त्यस्तै महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्य योजना प्रस्तुत गरेका थिए । ती योजना सुनेपछि गृहमन्त्री खाँणले योजनालाई व्यवहारमा कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । उनले सरकार नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन लागिरहेको भन्दै त्यस कार्यमा सहयोग गर्न कर्मचारी र प्रहरी अधिकारीहरूलाई आग्रहसमेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ