राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जनले च्यासलको कप्तानी गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
1.1k
Shares
फाइल तस्विर।
काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । च्यासलले मङ्गलवार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न बिराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।
अघिल्लो सिजन मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका बिराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल सङ्घले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी डिफेन्डर बिराजले यस अघि न्यु रोड टिम (एनआरटी), थ्री स्टार, सङ्कटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।
यस्तै च्यासलले स्कटल्याण्डका ली मान्सनलाई आजैको पत्रकार सम्मेलनबाट प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रूपमा काम लीलाई क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि नियुक्त गरेको हो ।
मङ्गलवारै च्यासल युथ क्लबलाई खेलकुद सामाग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ । चिनियाँ ब्राण्ड युक्यानले मङ्गलवार च्यासललाई एक वर्षको लागि प्रायोजन गर्ने सम्झौता गरेको हो । च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै युक्यानले च्यासललाई सहिद स्मारक ए डिभिजन लिगमा किट्स उपलब्ध गराउनु पर्ने छ ।