arrow

दश बजे बालुवाटारमा सर्वदलीय बैठक, कस्तो रणनीति बनाउला एमाले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
oli-deuba.jpg.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बिहीबार बिहान सर्वदलीय बैठक बोलाएका छन् । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । 

बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ । 

के गर्ला एमाले ? 
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । तर प्रमुख प्रतिपक्षी दल एमालेकै कारण संसदमा अवरोध हुँदै आएको छ । 

यही अवरोधबीच पनि सरकारले बहुमतका आधारमा विभिन्न विधेयकहरु पारित गरिसकेको छ । तर सत्ता गठबन्धन र प्रतिपक्षबीचको सम्बन्ध चिसिएका कारणले गर्दा संसद सहजै चल्न नसकेको अवस्था छ । 

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक एमालेले बहिस्कार गरेको थियो । उसले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको शुरुदेखि नै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले आफूले कारबाही गरेका सांसदलाई सभामुखले पनि कारबाहीको सूचना टाँस्नुपर्ने दबाब एमालेले दिएको छ । एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) खडा भएको छ । ती १४ जना सांसद आफूले कारबाही गरेकाले सभामुखले पनि कारबाही गर्नुपर्ने एमालेको तर्क छ । 

सभामुखले भने निर्वाचन आयोगले वैधानिकता दिइसकेको बताउँदै आएका छन् । अर्कातर्फ उनले यो मुद्दा अदालतमा विचाराधीन भएकाले अदालतलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि गर्न नहुने अडानमा सभामुख सापकोटा रहेका छन् । 

एमालेले कारबाही नगर्ने हो भने सभामुखले राजीनामा दिनुपर्ने बताइरहेको छ । 

यो अवस्थामा बटमलाइन नै १४ सांसदको कारबाही हो भने के एमालेले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागीता जनाउँछ त ? भन्ने पनि छ ।

अर्कातर्फ प्रधानमन्त्री देउवासँग नरम नीति नै बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले सधैको किचलो गरेर संसदलाई बन्दी बनाउनु भन्दा अगाडि बढ्नका लागि सहमति हुने सम्भावना पनि छ ।   

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले हाम्राकुरासँगको कुराकानीमा सहभागीता र रणनीतिबारेमा अझै टुङ्गो लागिनसकेको बताएका छन् । 

उनले भने, ‘नेताहरुबीच सल्लाह भइरहेको छ, एकछिनमा थाहा हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ