प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने लागेको भन्ने समाचार ‘अत्यन्तै दुःखद् र खेदजन्य’
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
363
Shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले मन्त्रीमण्डलमा भागबण्डा लिन खोजेको भन्ने किसिमका समाचार आएकोप्रति आपत्ति प्रकट गरेका छन् ।
सोमबार सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको संलग्नता भएको र मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न चुनौति समेत दिइएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विज्ञप्तिफार्मत मिडियामा आइरहेका समाचारको खण्डन गरी सत्यता नभएको दाबी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद् र खेदजन्य विषय हो । नेपालको संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशीलताका साथ क्रियाशील रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लाञ्छित गर्नु अत्यन्त दुःखद् अवस्था हो।’
यसअघि सर्वोच्च बार एसोसियसनले मन्त्रीमा भागबण्डा खोजेको विषय चर्चामा आएपछि प्रधानन्यायाधीश राणासँग प्रश्न गरेको थियो । सर्वोच्च बारका पदाधिकारीले सोमबार विहान प्रधानन्यायाधीश राणालाई भेटेरै ‘मन्त्रीमा भागबण्डा खोजेको विषय के हो ?’ भन्दै प्रश्न गरेका थिए ।