arrow

राप्रपाको एकता महाधिवेशन

एक महिनापछि राप्रपाको महाधिवेशन : कमल थापालाई अध्यक्ष जित्न धेरै नै मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
rpp-ekikaran.jpg

काठमाडौँ । कुनै बेला तेस्रो शक्ति देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको ओरालो लाग्ने क्रम जारी छ । यही क्रममा राप्रपाको एकता महाधिवेशन आगामी कात्तिक २७ देखि ३०गतेसम्म हुँदै छ ।

महाधिवेशन आउन एक महिना हुनै लाग्दा राप्रपाको महाधिवेशनबारेमा त्यति चर्चा छैन । राप्रपामा आबद्ध कार्यकर्ताका अनुसार यस पटक कमल थापालाई अध्यक्षमा चुनाव जित्न धेरै नै कठिन छ । 

एक कार्यकर्ता भन्छन्, थापाको विरुद्ध पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी मात्र नभई नेपालगन्जका धबलशमसेर राणा तथा झापाका राजेन्द्र लिङदेन पनि एक ठाउँमा उभिने अवस्था आएको छ । 

यद्यपि अहिलेसम्म अध्यक्ष पदमा ६ जनाले इच्छा देखाएका छन् । थापा, राणा, लोहनी, धवलशमसेर, लिङदेन र जगत गौचनले अध्यक्षमा उठ्ने चासो देखाएका छन् ।  अध्यक्ष पदमा सहमति हुन नसके आफू पनि चुनाव लड्ने इच्छा गौचनले कार्यकर्ताहरूसँग देखाउने गरेका छन् । 

राप्रपाका एक नेता भन्छन्, राप्रपाका अध्यक्ष थापाको भूमिकाप्रति अहिले पार्टीका धेरैजसो नेताहरूलाई चित्त बुझेको छैन । त्यसैले यस पटक थापालाई हराउनु पर्छ भन्ने मत बढ्दै गएको छ । त्यसो त, पछिल्लो समयमा थापा एमाले अध्यक्ष केपी ओलीसँग धेरै निकट हुन थालेका छन् । हरेक मुद्दामा थापाले ओलीको बचाउ गर्ने गरेका छन्। ‘यो भनेको आउने चुनावमा ओलीले सहयोग गर्छन् कि भन्ने आशा हो’ राप्रपाका अर्का एक नेताले भने । 

थापा ओलीसँग निकट भएका राप्रपाका अर्का अध्यक्ष राणा र लोहनीलाई पटक्कै मन परेको छैन । लोकतान्त्रिक शक्तिको हैसियतले काँग्रेस निकट हुनु पर्ने अडान राणा र लोहनीको छ । त्यसैले थापाविरुद्ध यस पटक ४ शीर्ष नेताहरूको मोर्चा बन्दी हुने सम्भावना बढेको छ- स्रोतले भन्यो । 

राप्रपाका नेता राजाराम श्रेष्ठका अनुसार अहिलेसम्म ४६ जिल्ला अधिवेशन भइसकेको छ । असोज २०सम्म सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्नु पर्ने कार्यतालिका राप्रपाले सार्वजनिक गरेको श्रेष्ठले बताए । यो राप्रपाको एकता महाधिवेशन हो । राणा र डा. लोहनीले नेतृत्व गरेको दुई छुट्टाछुट्टै पार्टीसँग कमल थापाले नेतृत्व गरेको राप्रपाबिच एकता भए पछि पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो ।

 एकता महाधिवेशन हुनु अघि नै पार्टीभित्र गम्भीर विवाद सिर्जना भएको छ । पछिल्लो समय राप्रपाका केन्द्रीय तहका नेताहरूको पार्टी छाड्ने क्रम जारी छ । पार्टी छाड्नेहरू मध्ये अधिकांश राप्रपा अध्यक्ष थापासँग चिढिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ