arrow

खाद्यको खसी बोका बिक्री घटस्थापनाको भोलिपल्टदेखि, यसपालि च्याङ्ग्रा नबेच्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
Chyangra_Khasi_Dashain.jpg
फाइल तस्विर।

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रवारदेखि (असोज २२) खसी बोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टदेखि कम्पनीले खसी बोका बिक्री वितरण सुरु गर्ने लागेको हो। 

कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसी बोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजारवटा खसी बोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसी बोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । 

तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्ट देखि अर्थात् असोज २२ गतेदेखि राजधानीमा खसिबोका बिक्री वितरण सुरु गर्ने जानकारी दिइन् । 

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसी बोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिइन् । कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानेले जानकारी दिइन् ।

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैँ यस पटक पनि खसी बोका बिक्री गर्न लागेको बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसी बोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरूमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।



नयाँ