arrow

मन्त्रालयको भागबण्डा टुंगियो : शीर्ष तहको बैठक वालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
sattarud-gatbandan.jpg

काठमाडौं । सत्ता गठवन्धन आबद्ध दलहरुबीच मन्त्रालय र मन्त्रीको संख्याको विषयमा सहमति जुटेको छ ।

पूर्व सहमति अनुसार नै कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जसपाले ५/५ मन्त्रालय भागबण्डा गर्ने गरी शीर्ष तहमा सहमति भएको हो ।

उच्च स्रोतका अनुसार कांग्रेसले रक्षा मन्त्रालयको अडान  छाडेर स्वास्थ्य, संचार तथा सुचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ ।

यसैगरी माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय पाउने भएको छ ।

यस्तै नेकपा एसले संस्कृती पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, यूवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने सहमति बनेको छ ।

यसैगरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रसासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।

सो सहमतिलाई अन्तिम रुप दिएर मन्त्रालयकोसमेत भागबण्डा गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले सत्ता गठवन्धन आबद्ध शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तार, संसदको गतिरोध अन्त्य, समसामयीक राजनीतिक अवस्था लगायतका विषयमा बैठकमा छलफल भइरहेको जानकारी दिए ।

सबै विषयमा सहमति भए आज साँझसम्म वा ढिलामा भोली बुधबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । संख्या र मन्त्रालयमा सहमति जुटेसँगै माओवादी केन्द्रले आज मन्त्रीको नाम टुंगो लगाउन स्थायी कमीटी बैठक बोलाएको छ ।

अब माओवादी केन्द्रले तीन फुल मन्त्री र एक राज्यमन्त्री पाउने छ । माओवादी केन्द्रबाट हाल सरकारमा उर्जा मन्त्री र अर्थ मन्त्री नियुक्त भइसकेका छन् ।

यस्तै कांग्रेसले पनि अब तीन मन्त्रालय पाउँने छ । कांग्रेसबाट हाल सरकारमा प्रधानमन्त्री, गृहसहित कानुन र परराष्ट्रमन्त्री नियुक्त भइसकेका छन् । यस्तै कांग्रेसबाट नै स्वास्थ्य राज्यमन्त्रीसमेत सरकारमा छन् ।

अब जसपाबाट पाँच फुलमन्त्री तथा नेकपा एसबाटसमेत सोही संख्यामा मन्त्री थपिने छन् ।

सोमबार साँझसमेत वालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रीपरिषद् विस्तारबारे छलफल भएको थियो ।

वालुवाटारमा जारी शीर्ष तहको बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । 



नयाँ