नेपालमा महिला प्रधानमन्त्री हुने दिन टाढा छैनः मन्त्री रेग्मी
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २३ शनिबार
700
Shares
काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पूरानो नेता र पछिल्लो समय भिक्टिमाईज भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पारेकी छिन् ।
मन्त्री भएको भोलिपल्ट आज शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना एवम् साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले भनिन्,‘हाम्रो पार्टीको पूरानो नेता हो । उहाँ भिक्टिमाईज हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको मान्छे हो । अब हेर्नुहोस, कसैको नाता पर्यो होला । तर, उहाँ भिक्टिमाईज भएर सम्मान गरेको हो । गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल छैन् । सर्वदलीय सहमतिबाट भएको कुरा हो । उहाँलाई मन्त्रीमा ल्याउनुपर्दथ्यो । पार्टीमा त्यत्रो योगदान गरेका मान्छेले अवसर पाउनुपर्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आईरहेको बताईन् । उनले भनिन्,‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन् । महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । राजनीति भनेको फोहोरी खेल हो । प्रधानमन्त्री बन्नको लागि त महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ । अहिले त पहिलाभन्दा धेरै परिवर्तन भएको छ । नेतृत्वको जिम्मेवारी पाए कुशलतापूर्वक त्यो जिम्मेवारी वहन गर्नसक्ने महिला छन् । मलाई जिम्मा दिएपनि म आरामले देश चलाउन सक्छु । पार्टी भनेपनि, सरकार भनेपनि, यी सबै समाजको छायाँ त हुन नि ।’
उनले निकट भविष्यमा नै महिला पनि प्रधानमन्त्री हुनसक्ने भन्दै आशा गर्न भनेकी छिन् । उनले अघि भनिन्,‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन् । यो दिन टाढा छैन् ।’
त्यस्तै, उनले पार्टीको आगामी १४औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने पनि विश्वास दिलाइन् । उनले भनिन्,‘हरेक तहमा समान प्रतिनिधित्व हुनुपर्छ । वडादेखि केन्द्रसम्म महिला पनि पदाधिकारी हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।’ आफूले रोजेर नै यो मन्त्रालयको जिम्मेवारी लिएको पनि उनको भनाई छ ।
उनले थप प्रष्ट पारिन्–‘मैले बास्तवमा भनेर नै यो मन्त्रालयमा आएकी हुँ । हुन त यो मन्त्रालयमा कतिले रिसोर्स धेरै छैन । बजेट धेरै छैन भन्ने धारणा राख्छन् । तर, म भने यो मन्त्रालयमा आएर महिला, बालबालिका, ज्येष्ठ नागरिकको लागि केही गरौं भनेर आफैंले रोजेर आएकी हुँ । म खुशी छु । म आन्दोलनबाट आएकी हुँ । मेरो अवधि कति रहन्छ, मैले कति गर्न सकुँला, त्यो त समयले बताउला । तर, आमूल परिवर्तन गर्न नसकेपनि केही न केही गरौं भनेर आएकी छु । महिलाहरु प्रताडित छन् ।
सरकार र हरेक ठाउँमा महिलाको प्रतिनिधित्व समावेशी-समानुपातिक हुन सकेको छैन् । राज्यको हरेक ठाउँमा महिला-पुरुष एक रथका दुई पाङग्रा हुन, त्यहीअनुसारको प्रतिनिधित्व हुनुपर्छ । हामी समतामूलक समाज नै निर्माण गर्न चाहन्छौं । अहिले महिला हामी एक तिहाईंमा टिकेका छौं । तर, यो मन्त्रिपरिषद्मा एक तिहाई पुगेन ।’
उनले भनिन्,‘यो २५ जनाको क्याविनेटमा ३३ प्रतिशत पुग्नको लागि ८ जना महिला मन्त्री हुनुपर्दथ्यो । तर, अहिले हाम्रो ६ जनाको मात्रै उपस्थिति छ । विभिन्न समितिदेखि नियुक्तीसम्म अब हरेक ठाउँमा एक तिहाई महिलाहरुको उपस्थित होस । सडकमा जति नारा लगाएपनि, नीति निर्माण गर्ने थलोमा महिला पुग्नुपर्छ ।’
उनले बच्चाहरुलाई पनि खोप दिन जरुरी रहेको भन्दै यस विषयमा। स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खोपको व्यवस्था गर्न आफूले पहल गर्ने पनि विश्वास दिलाइन् । उनले अहिले दुरदराजमा बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरुको जीवन रक्षाको लागि पनि विशेष ध्यान दिएर काम गर्ने बताइन् ।