- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । प्रजातान्त्रीक आन्दोलनका योद्धा राम प्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।
नेपाल प्रेस युनियन इलामले इलामको फिक्कलमा आयोजना गरेको विजयादशमी, छठ, नेपाल संवत र दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा दुलाल परिवार र नातीनातीनाको तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष कृषि, पर्यटन, शिक्षा लगायतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गर्ने पत्रकारलाई प्रदान गर्ने गरि राम प्रसाद दुलाल (जिल्ला बा) स्मृती पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् ।
प्रत्येक बर्षको दशैं र तिहारको विचमा वितरण गर्ने सो पुरस्कारको राशि २० हजार रुपयाँ नगद रहने र इलामलाई आधार बनाएर इलाम भित्र र बाहिर रहेका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने चम्लागाईले जानकारी दिए । पुरस्कारको व्यवस्थापन तथा संयोजन नेपाल प्रेस युनियन इलामले गर्ने जनाइएकोछ । इलाममा नेपाल पत्रकार महासंघले स्थापना गरेको आशिष स्मृती पत्रकारिता पुरस्कार प्रत्येक बर्षको बैशाख १ गते प्रदान गरिने गरेको छ । पुरस्कार घोषणाले जिल्लामा बसेर पत्रकारीता गर्ने पत्रकारहरुलाई हौसला थपेको युनियनकी जिल्ला अध्यक्ष पाण्डेले बताइन् ।
२०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका प्रजातान्त्रिक योद्धा दुलालले नेपाली कांग्रेसको इलाम जिल्लाको सभापतिको भुमिकामा समेत काम गरेको इतिहास छ । उनकै स्मृतिमा उनका छोराछोरी र नातानातिनाहरुले पुरस्कारका लागि अक्षयकोष खडा गरेर बर्षेनी संचारकर्मीलाई सम्मान गर्न लागेका हुन् ।
युनियनकी इलाम अध्यक्ष सविता पाण्डेको सभापतित्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाईले पत्रकारिता क्षेत्रमा अहिले पनि संकट रहेको बताए । चम्लागाई रामप्रसाद दुलालकी काइली छोरी चन्द्रकला चम्लागाईका छोरा हुन् । उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाम्राकुरा डटकमका संस्थापक रहेका चम्लागाई पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । उनकै अगुवाइमा पुरस्कार कोष स्थापना भएको हो । आगामी दिनमा रामप्रसादको स्मृतिमा प्रतिष्ठान नै खडा गरेर विभिन्न सामाजिक कामहरु गर्ने योजना परिवारको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न १ का सदस्य तोयानाथ भट्टराई, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, अग्रज पत्रकार प्रभाकर प्रधान, जीवन शर्मा, नेपाल बन पैदावार व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा युनियनलाई निरन्तर सहयोग गर्ने नेपाल बन पैदावार व्यवसायी संघलाई सम्मान गरिएको थियो ।
को हुन् राम प्रसाद दुलाल ?
२००७ सालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनदेखि राजनीतिक आन्दोलन साथै सामाजिक, शैक्षिक, कृषि क्षेत्रको विकासमा अनवरत खटिएका राम प्रसाद दुलाल इलाममा ‘जिल्ला बा’भनेर परिचित थिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङ, पाका नेता तोयानाथ भट्टराईलगायतसँग सहकार्य गर्दै प्रजातन्त्र स्थापना र बहुदलीय व्यवस्थाको माग साथै ०३६ र ०४६ सालको आन्दोलनमा क्रियाशील थिए ।
०३६ सालमा बहुदल प्रचार प्रसार समितिका संयोजक भएका उनी आधिकारिक प्रमाण नभए पनि २०२१-०२२ सालमा नेपाली कांग्रेस इलाम सभापति भएको बताइन्छ । पछि ०२९ सालतिर पनि दुलाल पार्टीको कार्यवाहक सभापति भएको बताइन्छ । दुलालसँग बर्षौंसम्म सहकार्य गरेका कांग्रेस नेता हरि खनाल भन्छन्,‘उहाँ निष्ठावान र उर्जावान व्यक्ति हुनुहुन्थ्यो । समाज विकास र लोकतन्त्रका लागि उहाँको योगदान स्मरणीय छ ।’
नेता खनालका अनुसार दुलाल पार्टी सभापति भएको आधिकारिक प्रमाण नभए पनि उनी पार्टीको निष्ठावान सिपाही थिए । खनाल भन्छन्,‘उहाँ पार्टी सभापति भएको मलाई थाहा छैन् । प्रमाण पनि भेटेको छैन् । उहाँलाई बहुदल प्रचार प्रसार समितिको संयोजक बनाएर हामी सँगै हिंडेका हौं । बहुदलको अभियानमा हिड्दा कुटाइ पनि खानुभएको याद छ । तर कुरा के हो भने कोही नेता देवासन भएपछि इतिहास जीवन्त राखिनुपर्छ ।
रामप्रसादका जेठा छोरा जीवन प्रसाद दुलाल उहाँ कांग्रेस पार्टीमा मात्र नभइ समाजसेवा, विकास निर्माण, कृषि र शिक्षाको प्रवद्र्धनमा पनि क्रियाशील हुनुभएको स्मरण सुनाउँछन् । उनी भन्छन्,‘बुबाले २०१४ सालमा वीपी कोइराला इलाम आउँदा घोडामा चढाएर इलाम भ्रमण गराउनुभएको हो । विशेष गरेर उहाँ ०१२ सालबाट चाहीं पार्टीको काममा बढी क्रियाशील हुनुभएको हो । मैंले बुझेसम्म ०२२ सालतिर इलाम जिल्लाको कांग्रेस सभापति हुनुभएको र ०२९ सालमा पुनःकार्यवाहक सभापति भएको सुनाउनुहुन्थ्यो । बहुदलीय प्रचार प्रसार समितिको संयोजक बनेपछि चाहीं माइक बोकेर गाउँ गाउँमा प्रसार प्रसारमा जानुहुन्थ्यो । झापाका केही सांसदहरुलाई जिताउन झापा पनि जाने गर्नुहुन्थ्यो ।’
‘८४ बर्षको उमेरमा २०६३/०६३ सालको जन आन्दोलनमा पनि लौरो टेक्दै आन्दोलनमा जाने गर्नुहुन्थ्यो । उहाँको बहुप्रतिभाशाली नै हुनुहुन्थ्यो । इलाममा पहिलो पटक अलैंचीको विरुवा सिक्किमबाट ल्याएर अलैंलीको व्यवसायिक खेतीको शुरुवात गर्नुभएको हो । मेची राजमार्ग निर्माण गर्दा पनि उहाँ निकै सक्रिय हुनुहुन्थ्यो’ उनले भने,‘बुबा शिक्षित हुनुहुन्थ्यो । शिक्षामा पनि उत्तिकै योगदान दिनुभएको छ । ज्योतिष शास्त्रमा पनि जानकार हुुनुहुन्थ्यो,’ छोरा जीवनप्रसादले भने ।
रामप्रसाद राजनीतिसँगै कृषिको विकास र प्रवद्र्धनमा पनि उत्तिकै सक्रिय थिए । कृषिलाई व्यवसायीकरण गर्नुपर्छ भनेर निरन्तर क्रियाशील थिए । चिया, छुर्पीको उत्पादनमा पनि पहल गरेका थिए । इलाममा शिक्षाको विकास गर्न पनि उनको उल्लेख्य योगदान रहेको बताइन्छ । उनका छोराहरु जेठो जीवन प्रसाद दुलाल, माइलो दिवानन्द दुलाल, साइलो केशव दुलाल, काइलो स्व.योगेन्द्र दुलाल र कान्छो लक्ष्मी दुलाल हुन् । त्यस्तै छोरीहरु लिला अधिकारी, माइली कृष्णकुमारी गजुरेल, साइली कमला ढुंगाना, काइली चन्द्रकला चम्लागाइ, अन्तरी लेखा कट्टेल र कान्छी खोकिला न्यौपाने रहेका छन् ।