arrow

साफ च्याम्पियनशिप 

फिनिसिङ दिन नसक्दा नेपाल भारतसँग पराजित

लगातार तीन जितसहित फाइनल प्रवेश गर्न चुक्यो नेपाल, फाइनल दाबेदारी खुला

logo
गिब्सनकुमारी वर्देवा,
प्रकाशित २०७८ असोज २५ सोमबार
saff-nepal-india.jpg

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो हार बेहोरेको छ । नेपाल भारतसँग पराजित भएको हो । शुरुआती दुई खेलमा जित निकाल्दै फाइनल नजिक पुगेको नेपाल आइतबार राति भएको खेलमा भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गोल गरे । भारतका लागि सुनिलको यो ७७ औं गोल हो । खेलमा भारतले नेपालविरुद्ध एकतर्फी खेल खेलेको थियो ।

नेपालले भने फिनिसिङ दिन नसक्दा यो खेलमा गोलका लागि सही दिशा पक्रन सकेन । प्रशिक्षक मोहम्मद अलमुताइरीले पनि खेल जित्ने अपेक्षा गरेका थिएनन् । उनले फिनिसिङको अभावले गर्दा हार्न पुगेको बताए । 

तर खेलपूर्वको प्रिम्याच कन्फ्रेन्समै उनले नेपालले जित्ने अभिव्यक्ति दिन सकेका थिएनन् । 

‘मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ । ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ । तर मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ ।’

नेपाल–भारत हेड टु हेड
भारतविरुद्ध नेपालले अहिलेसम्म २२ खेल खेलेको छ । जसमा भारत हाबी छ । भारतले १५ खेल जितेको छ । नेपालले २ खेल जितेको छ । पाँच खेल अहिलेसम्म बराबरीमा सकिएको छ ।

यसअघि नेपालले गत भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

मालेको समीकरण
भारतविरुद्धको खेल हारेपछि नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई २२ वर्षपछि हराउने क्रममा १–० गोल अन्तरको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले हराएको थियो । 

साफको सर्वाधिक सफल (सात पटकको च्याम्पियन) टिम भारतले एकमा जित र दुई खेलमा बराबरी खेलेको छ । योसँगै भारतको फाइनल प्रवेश सम्भावना पनि बलियो भएको छ । 

पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । 

भारत २ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा पुगेको छ । माल्दिभ्सले आइतबार भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले हरायो । 

बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौथो स्थानमा छ । पुछारको श्रीलंका फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिएको छ । 

लिगको बाँकी खेल  
 नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन । भारतसँगको हारसँगै नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ । 

बंगलादेशविरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनलमा पुग्नेछ । बंगलादेशलाई भने जित नै जरुरी छ । 

बुधबारकै लिगको अन्तिम खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । यो खेल बराबरीमात्र गर्दा पनि माल्दिभ्स फाइनलमा पुग्नेछ । यदि भारतले जित हासिल गर्यो भने भारत फाइनलमा पुग्नेछ ।

यो अर्थमा अन्तिम दुई खेलबाटै फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ । अहिलेसम्म फाइनल दाबेदारी खुला रहेको छ । 

श्रीलंकाले सबै खेल खेलिसकेको र १ अंकबाट पुछारमा रहिसकेकाले बाँकी चार टिमबाट नै फाइनल पुग्ने समीकरण बुधबार राति पूरा हुनेछ । 



नयाँ