arrow

दशैं सुरक्षामा काठमाडौं प्रहरी : ४ हजार बढी प्रहरी परिचालन, ४६ ठाउँमा क्रस चेकिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
nepal-police.jpg

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ तिहार लगायतका चाडबाडलाई लक्षित गर्दै चार हजार भन्दा बढी प्रहरी परिचालन गरेको छ।

परिसर काठमाडौंले दसैँ तिहार जस्ता चाडबाडमा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गरेको हो।

जस अनुसार काठमाडौंमा सादा पोसाकमा बाहेक मात्रै ३३ सय प्रहरी खटाइएको छ। यस्तै काठमाडौंका मुख्य सडक तथा भीडभाड हुने क्षेत्रमा सादा पोशाकमासमेत प्रहरी परिचालन गरिएको छ। काठमाडौं परिसर अन्तर्गतका १४ वटा वृत्तलाई विभाजन गरी प्रहरी परिचालन गरिएको हो।

परिसरका एसएसपी अशोक सिंहका अनुसार ३६ स्थानमा सर्च टोली खटाइएको छ। यस्तै १४ वटा क्यूआरटी टोली, मोबाइल टोली २४, ९० स्थानमा पिकेटिङ, मोटरसाइकल क्यूआरटी ७६ र सादा पोसाकमा ३८ टोली खटाइएको छ।

यस्तै विभिन्न २१ स्थानमा चेक प्वाइन्ट राखिएको छ।  १२ वटा मन्दिरमा सुरक्षा व्यवस्था मिलाइएको छ भने बसपार्क तथा भीडभाड हुने ११ स्थानमा हेल्प डेस्क राखिएको छ।

यसैगरी २२ स्थानमा एम्बुसिङ निगरानी टोली खटाइएको छ। ४६ स्थानमा क्रस चेकिङका लागि व्यवस्था मिलाइएको तथा अति विशिष्ट व्यक्तिका सवारी तथा कार्यक्रमहरुमासमेत आवश्यक जनशक्ति खटाइएको परिसर काठमाडौंले जनाएको छ।

सुरक्षा योजनामा व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ। यस्तै प्रहरीले दसैँमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ।

यसअघि नै प्रहरीले काठमाडौंका घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम, ठेगानासहितका फोटोसहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरेको थियो।

चाडपर्व नजिंकिंदै गर्दा चोरी, डकैती, लुटपाटलगायत आपराधिक कार्य हुनसक्ने भएकोले परिसरले सचेत हुनसमेत सबैमा आग्रह गरेको छ। यस्तै जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरुकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक-पटक देखिए निगरानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिँड्ने व्यक्तिको गतिविधि शङ्कास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ।

यसैगरी सार्वजनिक स्थलहरूमा धुम्रपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागू औषध तथा नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिनसमेत आग्रह गरिएको छ।

यस्तै रातको समयमा घरको ढोका कसैले ढकढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ। रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ।

यसैगरी सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ।

यस्तै जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरुकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ।



लोकप्रिय समाचार
नयाँ