arrow

मोरङको सिटिजन बैंक लुट्ने समातिए  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
citizen-bank-international.jpg

मोरङ । मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३:४५ बजे रु २१ लाख ७० हजार  लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई बुधवार यहाँ प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर-८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा-५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा-४ का ३० वर्षीय विजय सहनी (गोली लागी घाइते)लाई सार्वजनिक गरिएको छ ।

लुटपाटपछि घाइते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान-२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा तिनीहरूलाई पक्राउ गरेको हो । 

यादव भारत फरार भइसकेको अवस्थामा गोली लागी घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुन: मोटरसाइकलमा जाने क्रममा प्रहरीले पकाउ गरेको हो । उक्त लुटपाटमा  नौ जना सङ्लग्न रहेकामा सात जना बैंकमा प्रवेश गरेका, एक जना बाहिर बसेको र अन्य एक जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

लुटपाटमा संलग्न छ जना भारततर्फ फरार रहेको आशङ्का गरिएको र चाँडै प्रकाउ गरी सार्वजनिक गरिने उनले बताए । निजहरुले विगत केही दिनदेखि बैंकको अनुगमन गर्नुका साथै भीडभाड नभएको समय हेरी लुटपाट गरेको प्रहरी नायब उपरीक्षक श्याम श्रेष्ठले बताए ।

उक्त लुटपाटको प्रतिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड शीतल कुमाल गोली लागी घाइते भएका र निजको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ । निजहरुको साथबाट कटुवा पेस्तोल एक थान (एक राउण्ड लोडेड गोलीसहित), सानो मोबाइल एक थान, पेस्तोलको नपड्किएको राउण्ड थान एक र खोका एक बरामद गरिएको छ । बैंकले प्रारम्भिकरूपमा रु २१ लाख ७० हजार लुटपाट भएको जनाए पनि लिखितरूपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

होजियारी उद्योग सञ्चालन गरेका मुख्य योजनाकारका रूपमा रहेका मुखियाले चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अपराधी हुन् । निजहरु उपर हातहतियार खरखजना, डकैती, सङ्गठित अपराध तथा ज्यान मार्ने उद्योग गरी चारवटा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ