arrow

संयम गुमाएको युनाइटेडमाथि लिभरपुलको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
liverpool-manu.jpg

काठमाडौं। मोहम्मद सलाहको ह्याट्रिक मदतले ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ५-० गोलले पराजित गर्दै तीन अङ्क हासिल गरेको छ। म्यानचेस्टर युनाईटेडमाथि शानदार जित हासिल गर्ने क्रममा शाहको ह्याट्रिक र नाबी केटा एवं डिएगो जोटाले १-१ गोल गरेका थिए।

चिर परिचित प्रतिद्वन्द्वी बीचको खेलमा युनाइटेडको घरेलु मैदानमा लिभरपुलको यो ऐतिहासिक जितमा हिरो मोहम्मद सलाह हुन पुगे। लिभरपुलका लागि खेलको ५ औं मिनेटमा मोहम्मद सलाहको पासमा नाबी केटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको १३औं मिनेटमा एलेक्जेण्डर आर्नोल्डको पासमा डिएगो जोटाले गोल गर्दै गोल दोब्बर पारेका थिए।

युनाईटेडलाई सुरुवाती झट्का लागेपछि तालमेल बिग्रिन थाल्यो र खेलमा भौतिक आक्रमणहरू हुन थाल्यो त्यसको नतिजा स्वरूप राम्रो लयमा रहका नाबी केटालाई लगातार आक्रमण गर्दा उनी घाइते भएर मैदान बाहिर जान बाध्य भए। युनाईटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले समेत आवेगमा आएर पहेँलो कार्ड खान पुगे। उनले गरेको व्यवहार रातो कार्ड खाने खालको भए पनि उनी भाग्यले बाँचेका थिए।

लिभरपुलले संयमित भएर भौतिक आक्रमणको जवाफ गोलबाट दिईरह्यो। खेलको ३८औं मिनेटमा नाबी केटाको पासमा मोहम्मद सलाहले आफ्नो पहिलो र टिमका लगि तेस्रो गोल गरे। तेस्रो गोल पछि युनाइटेडले संयम गुमाउन थाल्यो। ४१औं मिनेटमा ल्युक श र ४५औं मिनेटमा क्रिष्टियानो रोनाल्डो एवं फ्रेडले पहेँलो कार्ड खाएका थिए।

खेलमा संयम गुमाएको युनाईटेडलाई ४५औं मिनेटमा डिएगो जोटाको पासमा सलाहले आफ्नो दोस्रो गोल गर्दै अझै आक्रामक हुन बाध्य पारे। लिभरपुल गोल गर्दै जाने र युनाइटेड संयम गुमाउँदै जाने दृश्य मैदानमा देखिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा ब्रुनो फर्नान्डेजले पहेँलो कार्ड खाएका थिए।

दोस्रो हाफको पाँचौं मिनेटमा हेण्डरसनको पासमा मोहम्मद सलाहले आफ्नो ह्याट्रिक पुरा गरेका थिए। खेलको ५५औं मिनेटमा ह्यारी मग्वाएरले पहेँलो कार्ड पाएका थिए। खेलको ६०औं मिनेटमा पल पोग्बाले रातो कार्ड खाएका थिए। उनले नाबी केटालाई मैदानबाट बाहिरिने गरी फल हानेर घाइते बनाएका थिए।

खेलको ८६औं मिनेटमा वान विशाकाले पनि पहेँलो कार्ड खाएका थिए। पुरै खेलमा युनाइटेडले आफ्नो संयम गुमाएको थियो जसको फाइदा लिभरपुलले भरपुर रूपमा उठाउँदै तीन अङ्क हासिल गर्न सफल भएको थियो।



नयाँ