arrow

नेपाल–चीन सीमामा समस्या रहेको प्रतिवेदनको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
nepal-china-border-study-te.jpg
तस्वीर–फाइल ।

काठमाडौं । गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले नेपाल र चीनबीच हुम्ला जिल्लामा सीमा समस्या रहेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले केही दिनअघि मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । 

त्यसपछि गृह मन्त्रालयले हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवाद द्विपक्षीय सहकार्यमार्फत समाधान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको परराष्ट्र स्रोतले बताएको छ। 

प्रतिवेदन प्राप्त भएपछि कार्तिक २ गते परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच भएको कुराकानीमा पनि सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

अध्ययन समितिको प्रतिवेदनले सीमाको ४ देखि ११ नम्बर पिल्लरसम्म समस्या देखिएको जनाएको छ । अध्ययन प्रतिवेदनले स्थायी तरिकाले विवाद समाधान गर्नुपर्ने निचोड निकालेको छ ।

स्रोतका अनुसार नेपाली भूमिमा चीनले काँडे तारको बार लगाएको हुन सक्ने अध्ययन प्रतिवेदनले सङ्केत गरेको छ । चिनियाँ पक्षले नेपाली भूमिभित्र नहर र रोड बनाउन खोजेको तर सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरी बलको विरोधपछि उक्त कार्य रोकिएको थियो ।

चिनियाँ पक्षले ६ (१) नम्बर पिल्लरलाई तार बारले घेरेको र पिल्लर ६ (१) र पिल्लर ५ (२) को बीचमा आफ्नो उपस्थिति देखाउन खोजेको छ । 

सन् १९६० मा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाको चीनको राजधानी बेइजिङ भ्रमणका बेला नेपाल र चीनबीच सीमा सहमति भएको थियो । त्यसपछि सन् १९६१ मा राजा महेन्द्र शाहको चीन भ्रमणका बेला दुई देशले सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । 

सन् १९६३ मा भएका नक्साङ्कनहरूलाई अन्तिम रूप दिँदै नेपाल र चीनले सीमा सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । यद्यपि अहिले उक्त सीमा सम्बन्धी प्रोटोकल उल्लङ्घन भएको सङ्केत अध्ययन प्रतिवेदनले गरेको छ ।

यो प्रोटोकल सन् १९७९ र सन् १९८८ मा नवीकरण गरिएको थियो । प्रत्येक दश वर्षमा नेपाल र चीनबीच सीमाका विषयमा उच्चस्तरीय वैठक हुँदै आए पनि केही वर्षदेखि यो हुन सकेको छैन । दुवै देशका परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित सीमा समितिले सन् २००५ मा पनि काम गरेको थियो । 

सन् २००६ देखि सन् २०१२ सम्म पनि काम गरेको उक्त समिति अहिले निष्क्रिय रहेको छ। नेपाली पक्षले सीमामा समस्या रहेको देखाए पनि चीनले भने सीमा विवाद नरहेको दाबी गर्दै आएको छ । 

नेपाल र चीनबीच सीमा सन्धि भएको ६० औँ वर्षगाँठमा चिनियाँ राजदूत हाउ यान्छीले नेपाल र चीनबीच सीमा विवाद नरहेको धारणा राखेकी थिइन् ।

चीनसँगको सीमा क्षेत्रमा समस्या देखिए पनि स्थानीयसमेत बोल्न नसक्ने स्थितिमा छन् । खास गरी तिब्बतीय बजारमा निर्भर रहने भएका कारण स्थानीयले सीमामा समस्या हुँदा बोल्न नसक्ने गरेको अवस्था छ । 

यद्यपि हुम्लाका स्थानीय जनप्रतिनिधि तथा कांग्रेस नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन गरी चीनले सीमा मिचेको तथ्य सहितको प्रतिवेदन सार्वजनिक गरेपछि सीमा विवादले राष्ट्रिय महत्व पाएको थियो । 

यो प्रकरणमा चीनले नेपाली कांग्रेस र सांसद शाहीलाई अनेक आरोपसमेत लगाएको थियो ।

सीमा विवाद मौन राख्न चीनले कूटनीति दाउपेचदेखि नेपालको आर्थिक गतिविधिहरूसम्म असर पुग्ने किसिमका प्रपञ्च रच्ने गरेकोसमेत आरोप छ । 

तातोपानी र  केरुङ नाकाबाट चीनले नेपाली सामान बोकेका कन्टेनर सहजै नेपाल भित्रिन नदिने विषयलाई समेत सरोकारवालाहरुले यो विषयसँग जोड्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ