arrow

दिगो विकासमा युवा नेतृत्वको भूमिका

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ कार्तिक १० बुधबार
SDG-KCC.jpg

काठमाडौं। युवाहरूलाई सहजीकरण तालिम मार्फत दिगो विकासका विविध आयाम तथा लक्ष्यहरूबारे अवगत गराउँदै नयाँ नेतृत्वको विकास गर्ने सोचका साथ एक समारोह बीच ‘सस्टेनेबल डेभलपमेन्ट गोल एम्बेसेडर’ कार्यक्रमको सुरुवात भएको छ । 

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै संयुक्त राष्ट्र सङ्घका पूर्व सुशासन सल्लाहकार प्राध्यापक रोबर्टशन वर्कले यस खालका नवीन कार्यक्रमले युवा नेतृत्व विकास गर्नुका साथै संयुक्त राष्ट्र सङ्घको अभियानमा समेत टेवा पुग्ने बताएका छन्। 

प्राध्यापक रामकृष्ण रेग्मीले समावेशीकरण, लैङ्गिक व्यवस्थापन सुशासन आदिका निम्ति युवाहरूलाई सुसूचित गर्दै नयाँ नेतृत्वको विकासमा जोड दिनुपर्ने कुरा बताए । प्राध्यापक तत्त्व प्रसाद तिम्सिनाले विश्वव्यापी रूपमा सोच्दै स्थानीय स्तरमा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास प्राप्त गर्न सकिने कुरा बताए भने डा. प्रल्हाद कार्कीले यो एक अभियान भएको र यसमा सबैको सहकार्यका निम्ति आह्वान गर्दै दिगो विकासलाई नेपालको समग्र विकासमा एकीकृत गर्ने कुरामा जोड दिएका छन् । 

कल्प एकेडेमी र आइसीए नेपालको संयुक्त पहल तथा कान्तिपुर सिटी कलेजको सहकार्यमा सञ्चालित कार्यक्रममा ३०-३० जना यूवाहरुको समूह बनाई बर्षेनी १२० युवाहरूलाई तालिम प्रदान गर्दै उनीहरूलाई आर्थिक सहयोग गर्दै दिगो विकासमा ससाना परियोजनाहरूको तर्जुमा तथा कार्यान्वयन गर्न अभिप्रेरित गरिने छ । 

कार्यक्रमबारे विस्तृत विवरण दिँदै कल्प एकेडेमीका संयोजक ई. रवी खनालले कार्यक्रमको औचित्य तथा कार्यान्वयन पक्षबारे बताए । आइसीए नेपालका कार्यकारी निर्देशक इशु सुब्बाले सहभागी छनौट गर्दा नै समावेशिताको सिद्धान्त अपनाउने कुरा व्यक्त गरिन् । फण्डरेजिङ्ग फर एनजिओका पूर्णिमा सुब्बाले सञ्चालन गरेको यस कार्यक्रममा युवा, विद्यार्थी, गैससकर्मी,  प्राध्यापक आदिको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ