- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कर्णाली। कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन्। प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७:३० बजे राजीनामा दिएका थिए। प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका हुन्।
विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली काँग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ। प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको काँग्रेस सोही सहमतिअनुसार पहिलो पटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो।
माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमतिअनुसार काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ। कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन्।