arrow

दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु : घर घरमा यमदीपदान

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
happy-dipawali[1].jpg

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीको साँझ मंगलवार यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहारअर्थात् यमपञ्चक शुरु भएको छ ।

 कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यमदीपदान सुरु भएसँगै मंगलवारैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो ।
 
यमदीपदान गरी मंगलवार शुरु भएको तिहारको दोस्रो दिन बुधबार काग र कुकुरको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । बिहीबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । चौँथो दिन गाई, गोरु, गोवद्र्धन पूजा गरिन्छ । पाँचौँ दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।
 
मनाइयो धनवन्तरी जयन्ती

 यसैबीच मंगलवार धनवन्तरी जयन्ती मनाइएको छ । वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी मंगलवार धन्वन्तरी जयन्ती मनाइएको हो ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

मंगलवारको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।

 आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरी जयन्तीका अवसरमा मंगलवार सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाइँदैछ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिएको छ । वैद्यखाना विकास समितिमा पूजाआराधना गरी आन्तरिकरुपमा कार्यक्रम गरिएको छ ।
 
नयाँ भाडा किनेर मनाइयो धनतेरस
 यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व मंगलवार सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ । धार्मिक विश्वासकै कारण मंगलवार भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

मंगलवारको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले समेत चिनिन्छ । मंगलवारका दिन नयाँ भाडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । गत वर्षजस्तो कोरोना त्रास नभएकाले पनि यस वर्ष भाण्ड त्रयोदशीका अवसरमा भाडा पसलमा भीड लागेको हो । भाडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाडा आकर्षक रुपमा साजसज्जा गरी राख्ने गरिन्छ ।



नयाँ