arrow

अन्तर प्रदेशीय उडानमा सौर्य एयरः कात्तिक २२ देखि विराटनगर-भैरहवाको सिधा उडानको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
sourya-arii.jpg

काठमाडौं । सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि बिराटनगरको नियमित उडान भर्ने भएको छ ।

अन्तर प्रदेश उडानका लागि नेपाल सरकारले अगाडि सारेको नीतिलाइ पहिलो प्राथमिकता दिंदै आगामी कात्तिक २२ गतेदेखि सौर्य एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत विराटनगर-भैरहवा-विराटनगर सिधा उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए ।

नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाइ दैनिक एक/एक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाइ दृष्टिगत गरि उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ । अन्तर प्रदेशीय उडान नेपालमा संभवत यो पहिलो हो । हाल सौर्य एयरलाइन्सले तीन वटा जहाजमार्फत दैनिक विराटनगर काठमाडौ, भद्रपुर काठमाडौ ,भैरहवा काठमाडौ ,धनगढी काठमाडौ लगायतका रुटका लागि एक दर्जन उडान भर्दै आएको छ ।

एयरलाइन्सले यो रुटका लागि एकतर्फी हवाइ भाडा छ हजार रुपैयाँ निर्धारण गरेको छ । नियमित उडानले भगवान गौतम वुद्धको जन्मभूमिसमेत रहेको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीको भ्रमणमा आउनेजाने तथा सो क्षेत्रबाट हवाई मार्ग भएर विराटनगर लगायत पूर्वी नेपाल तथा सिमावर्ती भारतीय क्षेत्रमा आउनजाने यात्रुहरुको यात्रा सहज एवं सरल हुने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

स्थलमार्गबाट विराटनगरदेखि भैरहवासम्मको ४९६ किलोमिटर दुरी तय गर्न करिब पन्ध्र घण्टा लाग्नेमा सौर्यको जेट जहाजबाट केवल ५३ मिनेटमै यात्रा तय गर्न सकिने समेत एयरलाइन्सले जनाएको छ । यो रुटमा उडान सञ्चालन भएपछि अन्तर प्रदेश पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । सौर्यले चाडैँ नै नेपालगंजदेखि भद्रपुर र राजविराजदेखि काठमाडौंको उडान भर्ने योजना बनाएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ