arrow

ओली र डा.भट्टराईबीच ‘वार’: को हो पानी माथिको ओभानो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
oli-baburam9.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एक अभिव्यक्तिलाई लिएर विवादमा तानिएका छन् । उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको खर्च कहाँबाट आयो भनि गरेको प्रश्नपछि ओलीको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले डा.भट्टराईको आम्दानीमाथि प्रश्न उठाउदै छोरी मानुषी बेलायतमा पढेकोमा प्रश्न उठाएका थिए । उनले भट्टराईकी छोरी बेलायतमा महिनाको ५ लाखसम्म खर्च गरेर पढेको दाबी गरेका थिए । डा.भट्टराईले ट्वीट गर्दै ओलीको सोही प्रश्नको जवाफ दिदै यस्तो चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘मित्र खड्ग प्रसाद जी, पूर्वप्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएरसंगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

त्यस्तै छोरी मानुषीले पनि सामाजिक संजालमार्फत ओलीको आलोचना गरेकी छिन् । ओलीले राजनीतिलाई नै मजाकको विषय बनाएको भन्दै प्रश्न गरेकी छन्, । ‘राजनीतिलाई कतिन्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’ उनले लेखेकी छिन् । ‘पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला ।’ ‘स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी)ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौं’ मानुषीले प्रष्ट पार्न खोजेकी छिन् ।

तर ओलीको अभिब्यक्तिलाई बचाउ गर्दै एमाले नेता सूर्य थापाले ओलीले सत्य बोलेको प्रमाणित गर्न खोजेका छन् । उनले सामाजिक संजालमा डा.भट्टराईको क्रियाकलाप र अभिव्यक्तिलाई जनयुद्धसँग जोड्दै ओलीको बचाउ गरेका छन् ।

उनले लेखेका छन् ‘तथ्य स्वयं बोल्छः जनताका छोराछोरीको काँधमा जनयुद्धको भारी र बन्दुक ।आफ्नी प्यारी छोरीचाहिँ बेलायत, देहरादुन, दार्जिलिङ र नयाँदिल्लीका महंगा स्कुलमा ? केपी शर्मा ओलीले सत्य नै बोल्नुभएको छ ।’

‘मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको शुरुवात काठमाडौंकै स्वर्णीम स्कूलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कूलमा पढिन्। आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाई बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाई पूरा गरिन्। उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा पढेकी हुन्। उनले कक्षा ५ काठमाडौंमै पढिन्।

मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कूलबाट पूरा गरिन्। कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कूलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कूलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जे एन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन्’ थापाले तथ्य पुष्टी गर्ने प्रयास गरेका छन् ।

थापाले सोसल मिडियामै भेटेको प्रसंग जोड्दै लेखेका छन, ‘सोसल मिडियामै भेटिएको-पुनश्चः प्रश्न मानुषिप्रति हुँदै होइन, डा.बाबुराम भट्टराईप्रति हो। युद्धकालमा शिक्षक, विध्यार्थी र विध्यालयहरूलक्षित गरिएका ज्यादति त नेपाली समाजले बिर्सन सक्दैन। अझ यिनैले अरूलाई उपदेश दिएको र पानी माथिको ओभानो बनेको पो मिलेन ।’

ओलीको आइतबारको अभिव्यक्तिपछि उनका क्रियाकलाप र रणनीति कति राष्ट्रिय हितका लागि छन् भन्ने प्रश्न पनि उठेको छ । भ्रमपूर्ण प्रचार भएको भन्दै ‘सोसल मिडिया वार’मा उत्रिन कार्यकर्तालाई आग्रह गरेका ओलीले आफ्नो कार्यशैली नै भ्रमपूर्ण भएको विर्सिएका हुन कि भन्ने प्रश्न उब्जिएको छ ।

सामाजिक संजालमै ओलीको आम्दानीको प्रश्न उठेको छ । निर्मल प्रसाईंले सामाजिक संजालमा प्रश्न गरेका छन्–‘कहाँको आम्दानीले बालकोटमा घर बनाउनुभयो ? स्वीस बैंकमा अर्बौं रुपैयाँ थुपार्नु भयो ? बर्थडेमा हेलिकप्टर चार्टर गरेर केक ओसार्नु भयो ?’

त्यस्तै लेखक डम्बर खतिवडाले लेखेका छन्,‘जे होस, कमरेड ओलीसंग एक अद्भुत क्षमता चाहिँ छ । उनी जे बोल्छन, झुठ बोल्छन, झुठ शिवाय अरु केही बोल्दैनन। उनले बोलेको झुठ साताकै सबैभन्दा चर्चित झुठ हुन्छ। जुन गिनिज बुकमा उनका झुठहरु लेखिन्छ । आधा एक्लै भर्छन आधा सँधै खाली हुन्छ, त्यस बुकमा उनी बाहेक अरु कसैले केही लेखाउँने आँट गर्दैन।’

कलाकार युवराज लामाले ओलीको अभिव्यक्ति गलत भएको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्,‘पूर्व प्रम केपी ओलीज्यु गलत सुचना लिएर सार्वजनिक रुपमा भ्रामक आक्षेप लगाएको सुहाएन । आरोपहरु केही समय भीड हसाउन मात्र काम लाग्छ, साथै क्रमस ओलिज्यु उडन्ते बन्ने खतराको बिन्दुमा पुग्दै हुनुहुन्छ । मानषी भट्टराई नेपाल र भारतको दिल्ली पढेको सारा नेपालीलाई थाहा छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ