arrow

डा. प्रणय शमशेर राणा 'सिनियर बोसरम्यान युनेस्को आजीवन फेलोसिप'बाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
Dr-Pranaya-SJB-Rana0.jpg

काठमाडौँ । शिक्षा, जनस्वास्थ्य र शोध कार्य (रिसर्च) क्षेत्रमा देश तथा विदेशमा ख्याति प्राप्त नेपालका डा. प्रणय शमशेर राणा 'सिनियर बोसरम्यान युनेस्को आजीवन फेलोसिप'बाट सम्मानित भएका छन् । 

संयुक्त राष्ट्र सङ्घ विश्वविद्यालयसँग आबद्ध बोसरम्यान द्वन्द्व समाधान केन्द्र (सेन्टर फर कन्फिल्क्ट रिजोलुसन)ले डा. राणालाई आजीवन फेलोसिप प्रदान गरेको हो ।

अमेरिकाको साल्सबरी विश्वविद्यालयमा रहेको बोसरम्यान द्वन्द्व समाधान केन्द्रले लामो समयसम्म द्वन्द्व एवं यससम्बन्धी शिक्षा, जनस्वास्थ्यका क्षेत्रमा सशक्तीकरण, खोज, अनुसन्धान एवं उल्लेख्य काम गर्दै विज्ञता हासिल गरेका व्यक्तिहरूलाई सिनियर बोसरम्यान युनेस्को फेलोसिप प्रदान गर्ने गर्छ ।

यो फेलोसिप केन्द्रले विभिन्न आबद्ध निकायबाट आएको सिफारिस पछिको मूल्याङ्कनका आधारमा निमन्त्रणामार्फत प्रदान गर्ने गर्छ । निमन्त्रणा मार्फत मात्रै पाउने हुँदा बोसरम्यान फेलोसिप पाउनका लागि आवेदन दिन सकिँदैन ।

यस कारणले पनि निकै महत्त्वपूर्ण मानिने सिनियर बोसरम्यान युनेस्कोको आजीवन अर्थात् स्थायी फेलोसिप पाउनेको सङ्ख्या अझै थोरै छ । तीमध्ये एक नेपालका डा. राणाले सिनियर बोसरम्यान युनेस्को आजीवन अर्थात् स्थायी फेलोसिप पाएका हुन् ।

यो फेलोसिप पाउनेहरूले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन(युनेस्को)को मुख्यालय पेरिसमा गएर विभिन्न किसिमका काम एवं अध्ययन, अनुसन्धानका साथै सम्मेलनमा सहभागी हुन पाउँछन् ।

को हुन् डा. राणा ?

डा. राणाले गत महिना अक्टोबरमा मात्रै दुई अमेरिकी विश्व विद्यालयमा नेपालमा तत्कालीन विद्रोही(माओवादी) र सेना समायोजनको अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका थिए ।

विभिन्न देशमा गृहयुद्धपछि विद्रोही र सेना समायोजन भएपछि पनि द्वन्द्व निरन्तर चलेका उदाहरणहरू छन् । तर, नेपालमा विद्रोही र सेनाबिचको समायोजन शान्तिपूर्ण रहनु विश्वकै लागि अर्थपूर्ण विषय बनेको थियो । 

यसै विषयमा डा. राणाले अक्टोबर १९ मा मेरिल्यान्डको साल्सबरी विश्वविद्यालयमा अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका थिए भने, अक्टोबर २२ मा जोर्जियाको केन्नेस स्टेट विश्वविद्यालयमा प्रस्तुतीकरण दिएका थिए । 

'नेपालमा विद्रोही-सैन्य एकीकरण: नेपाली सेनामा माओवादी लडाकुहरूलाई एकीकृत गर्न प्रयोग गरिएको कार्यात्मक तत्त्वहरूमाथिको अध्ययन' शीर्षकको डा. राणाको अनुसन्धान अन्तर्राष्ट्रिय स्तरमै गृहयुद्ध समाधानका क्षेत्रमा निकै महत्त्वपूर्ण छ ।

यसबाहेक डा. राणाले शरणार्थी व्यवस्थापनका क्षेत्रमा लामो समय अध्ययनका साथै खोजमूलक कार्यसमेत गरेका छन् । उसो त डा. राणाले यसै विषयमा विद्यावारिधि पनि हासिल गरेका छन् । हाल अफगानिस्तानकै उदाहरण लिएर देख्न सकिन्छ कि द्धन्द्धरत देशहरूको शरणार्थी व्यवस्थापन विश्वका लागि नै एक चुनौतीपूर्ण विषय हो ।

यस्तै तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा प्रशासनमा अफोर्डेबल केयर कानुन लागु भएपछि पछि ओबामा केयरमा डा. राणाले झन्डै ८ वर्ष नीति तथा कार्यक्रममा खोजमूलक कार्य गरेका थिए ।

डा. राणाले नेपाल, अमेरिका, हाइटी एवं इजरायललगायतका देशका विश्वविद्यालयमा बेलाबेला प्राध्यापन समेत गराउँदै आएका छन् ।

काठमाडौँका डा. राणा द्वन्द्व समाधान र शान्ति क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्ति हुन् । यी नै विषयमा अमेरिकी विश्वविद्यालयमा सहायक प्राध्यापकका रूपमा समेत डा. राणाले काम गरेका छन् ।

विभिन्न क्षेत्रमा झन्डै १९ वर्षको अनुभव बोकेका राणाले सेनाका लागि, अमेरिकी सङ्घीय तथा स्थानीय तहका निकायहरू, गैरसरकारी संस्था र एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा उल्लेख्य काम गरेका छन् ।

डा. राणाले हाल नेपालमै रहेर विभिन्न शैक्षिक एवं गैर शैक्षिक संस्थाका साथसाथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई परामर्श सेवा प्रदान गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी एवं किंग्स कलेजमा डा. राणाले प्राध्यापन समेत गराइरहेका छन् ।

अमेरिकामा रहँदा डा. राणा यसअघि सन् २०११ मा 'अमेरिकाज हु इज हु' पुरस्कारबाट सम्मानित भएका थिए । त्यसपछि विश्वका विभिन्न ठाउँमा गएर विशेष योगदान दिएको कार्यप्रति सम्मानस्वरुप सन् २०१६ मा डा. राणालाई 'ग्लोबल इन्गेजमेन्ट डिस्टिन्क्सिन अवार्ड'समेत प्रदान गरिएको थियो । 

विश्व जगतमा नेपालको स्वाभिमानलाई उच्चो राख्न काम गर्दै आइरहेका व्यक्तित्वहरूमध्येका एक डा. राणाले सिनियर बोसरम्यान युनेस्कोको आजीवन फेलोसिपबाट सम्मानित हुनु नेपालकै लागि गर्वको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ