'संविधान आधा गिलास खाली र आधा भरिएको जस्तो मात्र भएको छ'
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
536
Shares
काठमाडौं। जसपा नेता डा बाबुराम भट्टराईले संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको बताएका छन् । एक कार्यक्रममा डा भट्टराईले भने, 'संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ ।'
उनले माओवादीलगायतका दलहरूले अहिलेको संविधानमा सबै थोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताए । 'प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन ।'
'संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन', उनले भने, 'जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन ।' उनले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताए ।
अहिलेको नेपालको सङ्घीयता आफूहरूले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा भट्टराईको भनाइ छ । 'विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठुलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन', डा भट्टराईले भने, 'जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपर्थ्यो ।'