arrow

छठ पर्व : नदीका किनारमा विशेष साजसज्जा

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
chhath-puja.jpg
तस्बिर : फाइल

विराटनगर। तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् ।

पूजाका लागि व्रतालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न व्रतालुले लागि परेका छन् । विराटनगरको सिङ्घीया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् । विराटनगर–११ पिचरामा स्थानीय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिँगारिएको छ ।

सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधवार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ ।

यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाई पनि खाने गर्दछन् । यो पर्वका लागि सरकारले बुधवार सार्वजनिक बिदा पनि दिएको छ । यो पर्वको रौनक एवं चमक हेर्न बुधवार साँझ र बिहीबार बिहान हजारौँको भीड लाग्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ