arrow

छठ पर्व धूमधाम: अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
chath.jpg

काठमाडौँ। देशभर आज छठ पर्व धूमधामसँग मनाइँदै छ। काठमाडौँका कमलपोखरी, बागमती नदी, गौरी घाट, कुपण्डोल, विष्णुमती नदी लगायतमा अहिले छठ मनाउनेहरूको भीड लागेको छ। अहिले केही बेरमा अस्ताउँदो सूर्यलाई व्रतालुहरूले अर्घ दिँदै छन्। आजको दिन व्रतालुहरू मुलत पानीसमेत नपिई निराहार व्रत बस्छन्।

छठमातालाइ बर्तालुले नियम निष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरा लगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अर्घको रूपमा अर्पण गर्ने प्रचलन छ। त्यस्तै प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने केहीले प्रसाद चढाएर पानीबाट निस्कन्छन्। यस दिनमा बेहुली झैँ सिङारिएका घाटमा रातभर भजन कीर्तन र नाचगान समेत गर्ने प्रचलन छ।

छठमा विशेष गरि पीठोबाट बनाइएको ठेकुवा, पुरी, लड्डु, कसार, उखु, केरालगायतका सामग्री प्रसादका रूपमा अर्पण गर्ने प्रचलन छ। त्यस्तै भोलि प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवत् रूपमा यो पर्व सम्पन्न गरिन्छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्त वास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।

त्यस्तै सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरेको प्रसङ्गको उठान सहित त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य छ।

समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ