arrow

छठका लागि महँगो मूल्यमा केरा किन्नुपर्ने बाध्यता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
banana-chhat-min.jpg

काठमाडौँ । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरू लागेका छन् । व्रतालुहरू आज नुहाएर खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरू छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन् । छठ पर्वमा अनिवार्य रूपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नरिवल लगायतका फल पर्छ । 

अहिले फलफूल मन्डीमा केरा किन्न आउनेहरूको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसादको रूपमा प्रयोग हुने केरा किन्नेहरुको जनकपुरधामका प्रमुख बजारहरूमा केही दिन यता भीड लागेको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि केराको विक्री छठ पर्वको पूर्व सन्ध्यामा व्यापक वृद्धि भएको छ । यद्यपि अन्य वर्षहरूभन्दा महँगो मूल्यमा श्रद्धालुहरू केरा किन्न बाध्य भइरहेका छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरूको छ । 

यस वर्ष भारतबाट खरिद गरेर नेपाल भित्र्याउन रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी सङ्घका महासचिव भुवनेश्वर पूर्वेले बताए । उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा आयात गरिएको छ । 

जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको थियो । जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ । भारतको केरा सस्तो भए पनि नेपाल भित्र्याउन समस्या भएपछि त्यसको मार उपभोक्तामा पर्ने निश्चित रहेको फलफूल व्यवसायी दिलीप साले बताए । 

छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन् । पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो । तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ