- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता गठबन्धनको एउटा घटक माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा जुटेको छ । एमाले–माओवादी केन्द्रलाई फागुन २३ गते सर्वोच्च अदालतले अलग गराएपछि माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको हो ।
त्यसका लागि कात्तिक २७ गतेबाट शुरु भएको टोल सम्मेलन र मंसिर ४ गतेदेखि शुरु हुने वडा सम्मेलनका लागि गाउँ तथा जिल्ला स्तरीय नेताहरु आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । कात्तिक २७ मै टोल सम्मेलन हुन नसकेपछि मंसिर ४ गते अगावै वडा सम्मेलनहरु भैरहेका छन् ।
पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीका लागि माओवादी केन्द्रले गाउँ नगर, टोल, वडा सम्मेलनलाई महत्व दिएको थियो । तर टोलमा भनेजस्तो अवस्था नभएपछि एकपटक वडा सम्मेलनमा केन्द्रीत हुन थालेको हो ।
कुनैबेला चार हजार केन्द्रीय सदस्य बनाएर राजनीतिक वृत्तमै चर्चामा आएको माओवादी केन्द्रले यसपटक भने चुस्त दुरुस्त संगठन बनाउनेमा जोड दिँदै टोल, वडा, गाउँपालिका, जिल्ला र प्रदेश हुँदै केन्द्रको नेतृत्व व्यवस्थापनमा लागेको छ ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार यही कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नवीकरण सकिएपछि २७ गते टोल सम्मेलन र भेला सम्पन्न भैसकेका छन् । उनका अनुसार अब मंसिर ४ गतेसम्म वडा सम्मेलन गर्ने र त्यहाँबाट नयाँ नेतृत्व चयन गर्नेछ ।
त्यसका लागि सोमबारबाटै विभिन्न जिल्लामा वडा सम्मेलनहरु शुरु हुनेछन् । ११ गते गाउँ–नगरपालिका सम्मेलन,२५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलनको कार्यतालिका तय भएको छ ।
माओवादी पार्टी केन्द्रले पठाएको कार्यतालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भैरहेको छ’, उनले भने ‘अब माओावदी केन्द्र वैचारिक राजनीतिक रुपले सुस्पष्ट भएर अघि बढ्नेछ ।’
माओवादी केन्द्रले गएको साउनमा माओवादीको २०७३ को विधान संशोधन गरेको थियो । २०७३को प्रथम संशोधन २०७८ मा पार्टीका विभिन्न तह र तप्काको निर्वाचनको व्यवस्था गरेको छ । जुन नेकपा विधानकै परिमार्जित रुप हो । त्यही विधानलाई थप व्याख्या गर्दै केन्द्रीय निर्वाचन आयोग कार्य सम्पादन नियमावली–२०७८ पास गरेको थियो ।
‘साउनमा पास गरिएको विधान अनुसार नै सबै कमिटीहरु निर्माण हुनेछन्’, स्थायी समिति सदस्य गजुरेलले भने । एमाले–माओवादी एकीकरण र त्यसपछि बनेको नेकपाको संरचना अन्तर्गत अहिले माओवादी केन्द्रले अन्तरिम विधान जारी गरेको छ ।
सो विधानमा माओवादी केन्द्रले १४ केन्द्रीय निकायको व्यवस्था गरेको छ । जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्,केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग,केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च छन् ।
माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशनसम्मका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सहित बहुपद सिर्जना गरेको छ । जसमा २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिटब्युरो र पोलिटव्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समितिको व्यवस्था गरेको छ ।
अन्तरिम विधानमा उल्लेख भए अनुसार दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा सचिव र कोषाध्यक्ष सहितको आवश्यक संख्याको एक केन्द्रीय सचिवालय रहने सो विधानमा उल्लेख गरेको छ ।
माओवादी केन्द्रको विधानअनुसार सबै केन्द्रीय आयोग २५ सदस्यीय रहनेछन् । राष्ट्रिय परिषदमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूदेखि पार्टीसम्बद्ध जनवर्गीय, पेशागत, मोर्चा तथा अन्य सामाजिक संगठनका केन्द्रीय अध्यक्ष वा संयोजक वा प्रमुख रहने व्यवस्था छ ।
केन्द्रीय समितिले बढीमा १४९ जना सम्मको अध्यक्ष, सचिव र सदस्यसहित सल्लाहकार समिति गठन गर्नसक्ने तथा जेष्ठ कम्युनिष्ट मञ्चमा केन्द्रीय समितिको कूल सदस्य संख्याको ५० प्रतिशत नबढ्ने गरी व्यवस्था गरेको छ ।
अन्तरिम विधानअनुसार माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा १७५ सदस्य रहनेछन् । त्यस्तै प्रदेश परिषदमा प्रदेश समितिका पदाधिकारी र सदस्यहरूदेखि नगर–गाउँ पालिकाका प्रमुखहरूसमेत समेटिने छन् ।
विधानमा काठमाडौं उपत्यकामा केन्द्रीय समितिले तोकेको जनवर्गीय र पेशागत संगठनहरूमा कार्यरत विभिन्नस्तरका पार्टी सदस्यहरूको बीचमा पार्टीको संगठनात्मक कार्यको लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहित बढिमा १७५ सदस्यीय उपत्यका विशेष समिति रहने व्यवस्था छ ।
माओवादीले जारी गरेको अन्तरिम विधान अनुसार स्थानीय समितिको सदस्य संख्या व्यवस्था गरिएको छ । सो अनुसार महानगर समिति– ९९, उपमहानगर समिति– ८१, नगर समिति– ६५, गाउँ समिति–शाखा समिति –सम्पर्क समन्वय जिल्ला समिति– ५५, महानगरका वडा समिति– ४५, उपमहानगरका वडा समिति– ३५, नगर र गाउँका वडा समिति–उपशाखा समिति–पालिका सम्पर्क समन्वय समिति–२९, टोल समिति–इकाई समिति–वडा सम्पर्क समन्वय समिति–१९ र पार्टी सेल–१५ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
त्यस्तै माओवादी केन्द्रले आफ्नो विधानमा विभाग, फ्याक्सन संयन्त्र र कार्यदलको पनि व्यवस्था गरेको छ ।