arrow

गठबन्धन सिंहदरबारको सरकार सञ्चालनका लागि मात्रै हो : बलायर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
balayer.JPG

डोटी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरले पाँच दलीय गठबन्धन सिंहदरबारवाट सरकार सञ्चालनका लागि मात्रै भएको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाद्वारा दिपायलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘गठबन्धन सधैभरीका लागि वा गाउँ बस्तीसम्मका लागि बनेको होइन । गठबन्धन हुँदैमा गठबन्धनका सहयात्री दलका गलत क्रियाकलापहरूमा समेत चुप लाग्नुपर्छ भन्ने छैन,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘कम्युनिस्ट सरकारले विगतमा गरेका अपराधको संरक्षण गर्न हामी तयार छैनौ ।’ 

सुदूरपश्चिम प्रदेश सरकारका क्रियाकलापहरूलाई लक्षित गर्दै उनले भने,‘यो प्रदेशमा त हामी सत्ता गठबन्धनमा पनि छैनौ । योजना किनबेच गर्ने, कार्यकर्ता र जनतालाई समेत भ्रष्टाचार गर्न उत्प्रेरित गर्ने सरकारको पक्षमा काँग्रेस हुन सक्दैन् ।’ आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जाने समेत उनले बताए ।

आसन्न काँग्रेस महाधिवेशनका विषयमा सम्बोधन गर्दै नेता बलायरले पार्टीका नेताको अस्वस्थ आलोचना गरेर पार्टीलाई बलियो बनाउन नसकिने बताए । उनले भने, ‘नेतृत्व गरिरहेको व्यक्तिलाई अस्वस्थ आलोचना गरेर पार्टी कमजोर हुन्छ । त्यसैले स्वस्थ प्रतिस्पर्धात्मक भावमा सबैले उत्रनुपर्छ ।’

सर्वोच्च अदालत प्रधानन्यायाधीश विवादका विषयमा पत्रकारले सोधेको प्रश्नमा बोल्दै उनले त्यो विषय न्यायपालिकाको विषय भएकाले काँग्रेस नबोलेको बताए । ‘काँग्रेस विधि, पद्धतिमा विश्वास गर्ने पार्टी हो । हामी स्वतन्त्र न्यायपालिकाको अवधारणामा कटिबद्ध छौ । त्यसैले सर्वोच्चभित्रको विवाद त्यहीभित्रबाटै समाधान होस भन्ने काँग्रेसले चाहेको छ,’ उनले भने ।

एमसीसी परियोजना संसद्को विषय भएकाले काँग्रेस एक्लैको अनुमोदन गर्ने अवस्थामा नरहेको नेता बलायरले बताए । उनले भने,‘यसमा भएका प्रावधानका विषयमा जुन कुरा उठेका छन् । त्यसबारे प्रस्ट भइसकेको छ । अब यसको बाँकी काम सांसदबाट हुने हो । संसद्मा काँग्रेस एक्लैले चाहेर अनुमोदन गर्न नसकिने अवस्था छ ।’



नयाँ