- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पर्यटन प्रवर्द्धनमा नयाँपन दिन आवश्यक भएको बताएका छन् । पर्यटन प्रवर्द्धनमा नयाँपन दिनका लागि प्रदेश सरकार सघाउन तयार रहेको उनले स्पष्ट पारे ।
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको शुक्रबार पोखरामा आयोजित २८औं वार्षिक साधारणसभामा मन्त्री बरालले यस्तो बताएका हुन् ।
उनले भने, “अब हामीले छिट्टै पोखराका पर्यटन व्यवसायीहरुसंगको भेटघाट तथा छलफलमा बस्ने छौं । जसले कम्तिमा एउटा नमुना कार्यक्रम छनौट गर्नेछ, जुन कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुनेछ ।”
मन्त्री बरालले हिमागृह, रत्न मन्दिर खुलाउने, अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएंसंगै फाष्टट्र्याक निर्माण गर्ने, पैदल मार्ग निर्माण गर्ने, फेवातालको संरक्षण गर्ने भन्ने विषयमा टुंगो लगाउनुपर्नेमा जोड दिए । अनियन्त्रित र अराजक ढंगले जथभावी रुपमा सडक खन्नाले विकासको नाममा विनाश निम्तिएको उनको भनाई थियो ।
टानका केन्द्रीय महासचिव सरिता लामाले कोरोनापछि नेपालमा करिब १६ हजार विदेशी पर्यटक आएको दाबी गरे । उनले आगामी एक महिना भित्र टान र नेपाल पर्यटन बोर्ड बीच सम्झौता भइ हाल बन्द रहेको टिप्स कार्ड वितरणको चेक पोष्ट पुनः संचालन हुने बताए ।
गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले प्रदेशमा पर्यटनको सम्भावना भएकोले गर्दा प्रदेशले विकासको पहिलो आधार पर्यटनलाई नै बनाएको बताए ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले विकासको पहिलो आधार पर्यटनलाई राखेको बताए । उनले सिक्लेसमा नयाँ पैदल मार्ग सुरु गरिएको र उक्त पदमार्गले पर्यटन प्रवर्द्धन विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय हिसावले गण्डकी प्रदेशलाई बचाउन सरकारले केही प्याकेज ल्याउनुपर्ने माग गरे ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष बिरु बमजन, प्रथम उपाध्यक्ष धर्मराज पन्थी, महासचिव मिलन तिवारी लगायतले बोलेका थिए ।