arrow

अदालत सेटिङमा नचलोस् भन्ने हाम्रो चाहना : अध्यक्ष ओली

logo
रासस,
प्रकाशित २०७८ मंसिर ४ शनिबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन्। परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरूक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष ओलीले भने, “लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न, अदालत निष्पक्ष, भरोसायोग्य, स्वतन्त्र र मर्यादित होस्, सेटिङमा नचलोस्, जनताको विश्वास जितोस् भन्ने मात्रै हाम्रो चाहना हो।”

न्याय नपाए गोरखा र काशी होइन, हाम्रो अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले भने, “अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ होइन, व्याख्या गर्ने ठाउँ हो, संवैधानिक अदालतले व्याख्या मात्र गर्ने हो, हेरफेर गर्न र स्पष्ट लेखेका कुरालाई उल्लङ्घन गर्न सक्दैन।”

राजनीतिमा संलग्न हुन नहुने, तटस्थ बस्नुपर्ने संस्थाका विषयमा सेटिङका विषय आउन हुन्थेन भन्दै पूर्व प्रधानमन्त्री ओलीले भने, “न्यायमूर्तिले राजनीतिक पूर्वाग्रहबाट होइन, हामीले आन्दोलन गरेर ल्याएका संस्था सुसंस्कृत र लोकतान्त्रिक हुनुपर्छ, लोकतन्त्र भनेको कानुनको राज हो।”

पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाली राजनीतिमा सभ्य, शिष्ट र परिष्कृत राजनीतिक नेतृत्व रहेको परिवार दलले देश तथा जनताका हितका लागि काम गरोस् भनी शुभकामना दिए। उनले भने, “सबै धर्म र संस्कृतिलाई बराबरी स्थान दिँदै अघि बढेको परिवार दलले नेपाली जनतालाई सुख, दुःखमा साथ देओस्, आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाओस्।”

परिवार दल तेस्रो राष्ट्रिय महाधिवेशन तयारी समितिका अध्यक्ष एकनाथ ढकालले ‘सबै खाले विभेदको अन्त्य गरौँ  सुसंस्कृत, समृद्ध र समावेशी नेपालको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ अधिवेशन गर्न लागेको जानकारी दिए।

उनले भने, “देश र जनताका अपेक्षा पूरा गर्न क्रियाशील शान्ति, लोकतन्त्र र संविधान कार्यान्वयनको मूल एजेन्डा बनाएर अघि बढिरहेको छ, वातावरण र मानवबीच सन्तुलन कायम गर्दै वातावरण संरक्षणमा पनि विशेष जोड दिइने छ।”

आम आदमी पार्टी नेता अजय दत्त र जेएनयु युनिभर्सिटीका प्राध्यापक महेन्द्र पी लामाले परिवार दल नेपाली राजनीतिमा उज्यालो काम र ज्ञानको खेती प्रवर्द्धनमा क्रियाशील रहेको बताए। महाधिवेशनको सफलताका लागि १५ देशका २७ राजनीतिक दलले पठाएको शुभकामना प्रस्तुत गरिएको थियो।

महाधिवेशन उद्घाटनका अवसरमा पार्टीको स्वयंसेवक दस्ता ‘शान्ति बल नेपाल’द्वारा मार्च पास र विभिन्न धर्मगुरुद्वारा सामूहिक रूपमा जलधारा प्रवाह गरिएको थियो।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको दुई दिने उक्त महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सह महामन्त्री र कोषाध्यक्षसहित १०१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ। संविधानसभा निर्वाचनमार्फत दुई सभासद् पठाएर संविधान निर्माणमा योगदान पुर्‍याएको उक्त दलको पछिल्लो निर्वाचनमा सङ्घीय संसद्मा भने प्रतिनिधित्व हुन सकेन।

पच्चीस हजार क्रियाशील सदस्य र चुनाव चिह्न साँचो रहेको परिवार दलको मुलुकका ७७ जिल्लामा सङ्गठन विस्तार भइसकेको बताइएको छ।

देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको विषयलाई पारित गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ