arrow

‘हुँडीकोट’ पोखराको नयाँ पर्यटकीय गन्तव्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
Hunikot.jpg

पोखरा । पोखरा महानगरपालिका ३३ को हुँडीकोट उच्च पहाडी भूभागमा रहेको यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमालदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्यलाई एक साथ नियाल्न सकन्छ ।

माछापुच्छ्रे अन्नपूर्ण, धौलागिरिलगायतका हिमश्रृंखला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथसहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुँडीकोटमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पुग्नेक्रम बढीरहेको छ । 

समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेको यो स्थलले समग्र भरतपोखरीको गरिमा र महत्व बढाएको यहाँका स्थानीयवासी बताउँछन् ।

यहाँबाट कास्की, तनहूँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थान देखिन्छन् ।

पछिल्ला वर्षमा पोखराको विरौटा हुँदै पोखरा महानगरका बसका साथै पोखराबाटै पावरहाउस, गगनगौंडा हुदै मनीयल डाँडासम्म स्थानीय मिनि बस गरी दुवैतर्फ सार्वजनिक यातायातसमेत सञ्चालनमा आउँदा पर्यटकलाई ठूलै राहत महसूस भएको छ ।

मनीयलडाँडा बसपार्कबाट निजी सवारी साधन हुने व्यक्तिहरू सवारी साधन लिएरै हुँडीकोटसम्म नै पुग्न सक्छन् भने नहुनेले करिब १५ मिनेट हिंड्नुपर्छ ।

पछिल्ला वर्षमा पर्यटकहरू आउनेक्रम बढेसँगै मनीयलडाँडा बसपार्कका साथै हुँडीकोटमा नै होटल तथा रेष्टुरेन्ट बन्ने क्रमले पनि गति लिएको छ । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी हुँडीकोटमा स्थानीय युवाले हुँडीकोट भ्यू प्वाइन्ट सेन्टर नामक होटेल सञ्चालनमा ल्याएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गतको पावर हाउस चोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरी, चिलाउने, धारापानी, मनीयलडाँडा, कोटभैरव हुँदै हुँडीकोटसम्म हाइकिङ गर्न चाहनेले नौ किलोमिटर दूरी पार गर्नुपर्छ ।

यस्तै, पृथ्वीराजमार्ग अन्तर्गतकै आदर्शचोक भण्ढारढिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुँडीकोटसम्म पनि हाइकिङ गर्न सकिन्छ ।

अर्कोतर्फ दक्षिणतर्फ बगेको सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौंडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माँझथर हुँदै हुँडीकोटसम्म अर्को हाइकिङको मार्ग विस्तार गर्न सकिने स्थानीयवासी बताउँछन् ।

वर्षात् वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नाङ्गो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिन्छ ।

हुँडीकोटबाट नजिकैको मल्लकालीन कोटभैरव मन्दिर पनि यहाँको अर्को धार्मिक पर्यटकीय आकर्षण हो । यो तीर्थस्थलमा कास्कीको साविकका भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहूँका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गर्दछन् ।

भैरवको स्मरणमात्रले पनि विपत्ति नष्ट हुने प्राचीन जनविश्वास यहाँको अर्को महत्वपूर्ण पक्ष हो । 

हाइकिङको मार्गमा नै रहेको हुँडीकोट नजिकैको देउरालीमा लामो समयसम्म खडेरी परेमा स्थानीयवासी मिलेर पूजाआजा गरी पानी माग्ने गर्दछन् । 

‘हरहर महादेव’ भन्दै पानी मागेमा त्यही दिन वा नभए एक दुई दिनभित्रमा पानी पर्ने गरेको स्थानीयवासी बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ