arrow

अमेरिकामा पहिलो पटक नेपाली संस्कृति अनुसार ‘थ्याङ्सगिभिङ’ पर्व मनाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
US-Thanksgiving1.jpg

न्यूयोर्क । अमेरिकामा पहिलो पटक नेपाली संस्कृति अनुसार थ्याङ्सगिभिङ सडक महोत्सव कार्यक्रम आयोजना गरिएको छ ।

न्यूयोर्क सिटी कम्युनिटी एफियर्स युनिट र उडसाईड अन द मुभको संयुक्त प्रायोजन र विभिन्न २१ वटा सामाजिक संस्थाहरूको सहप्रायोजनमा न्यूयोर्क क्विन्सस्थित ६९ स्ट्रीट रूजवेल्ट एभिन्यूमा विशेष थ्याङ्सगिभिङ सडक मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

महोत्सवमा आयोजक संघसंस्थाहरूले विभिन्न संस्कृति झल्काउने पहीरन एवं नृत्य प्रस्तुत गरेका थिए। यसैगरी आयोजक एवं अन्य विविध संस्थाहरूले स्वास्थ्य सामाग्री, विभिन्न खानाका परिकार, चेतनामूलक र वहुउपयोगी सामाग्रीहरू निःशुल्क वितरण गरेका थिए।

सडकमा उल्लेखनीय रूपमा नेपाली भाषा र संस्कृती झल्काउने पहिरन सहितका मानिसहरु उपस्थिति थिए । कार्यक्रममा जीपी कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको नेतृत्व एवं विशेष सक्रियतामा नेपाल आमेरिका आर्टिस्ट एसोसिएशन ,वसन्त डान्स सेन्टर न्यूयोर्कका कलाकारहरूले नेपाल झल्कने विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए।

सो अवसरमा फाउन्डेशनका अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरु ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, सदस्यहरु टेक वहादुर कार्की, निमा पुनमगरलगायत सक्रिय सहभागिता जनाएका थिए । फाउन्डेशनको तर्फबाट करिब एक हजार थान मास्क र सेनिटाईईजर वितरण समेत गरिएको थियो।

कार्यक्रममा न्यूयोर्क ल्याटिनो सोसाइटी, एसेम्ब्ली मेम्बर जेसीका गोन्जालेस् रोजास्, काउन्सील मेम्बर जुली वगं लगायतको सहभागिता थियो। नेपाल अमेरिका आर्टिस्ट एसोसिएशनका वरिष्ट उपाध्यक्ष वसन्ती राई र उपाध्यक्ष ईट्ना कार्कीको नेतृत्वमा विभिन्न एकल र सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो।

कलाकार कबिना सिंहले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिइन भने न्यूयोर्कस्थित नेपाली कन्सुलेटबाट सहायक वाणिज्यदूत गणेश प्रसाद अधिकारी, वसन्त डान्स सेन्टरका निर्देशक विजय नकर्मीको टीम, समाजसेवी विरेन्द्र मानन्धर लगायत स्थानिय उद्यमी तथा व्यवसायीहरूको बाक्लो उपस्थिति थियो ।

अमेरिकामा आगामी विहीबार परिवार एवं आफन्तजन जम्मा भइ टर्की लगायत परम्परागत र प्रिय भोजन एवं पेयपदार्थ सेवन गरी उल्लासमय रूपमा पर्व मनाइँदैछ । त्यस्तै आपसमा धन्यवाद ज्ञापन गर्ने सौहार्दपूर्ण पर्वको रूपमा मनाइने गरिन्छ । अमेरिकामा नेपालीहरु पनि क्रमशः बाक्लिँदै गएको र अमेरिकी संस्कृतिबाट प्रभावित भइ नेपाली समूदाय पनि यसपाली थ्याङ्सगिभिङ मनाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ