- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आधुनिक हतियारले सम्पन्न विश्व र विश्वभरका मुलुकहरुका लागि सबैभन्दा ठूलो खतरा बन्दै गएको छ आतंकवाद । आफ्नो ज्यानको नै प्रभाव नगरी आत्मघाती हमला गर्ने आतंकवादी र त्यतिकै क्रुर मानसिकता सहितका आतंकवादी उत्पादन गर्ने संगठनहरु विश्वका लागि खतरा बन्दै गएका हुन् । र, यस्ता आतंकवादी संगठनहरुलाई आश्रयस्थल दिने देशहरु झन ठूलो चिन्ताको विषय हुन्।
२१ औँ शताब्दीका दुई नामुद आकतंकवादी हमलाका रुपमा चिनिने मुम्बई आक्रमण (सन् २००८) र सेप्टेम्बर ११ आक्रमण (सन् २००१) बाहेक सन् २००१ मा जम्मू कश्मीर विधानसभामा भएको कार बम विस्फोट, सन् २००१ मै दिल्ली संसदमाथि भएको आक्रमण, सन् २००३ को मुम्बई कार बम विस्फोट, सन् २००२ को माली बम बिस्फोट, सन् २००४ को मड्रिड ट्रेन बम विस्फोट लगायतका थुप्रै डर लाग्दा आक्रमणहरु भएका छन् ।
४० वर्षमा ३३ हजार आतंकवादी हमला
आतंकवादसँगै जोडिने दुई नाम भनेका इस्लामवादी र पाकिस्तान, अफगानिस्तान र इरान हुन् । फ्रान्सस्थित थिंकट्यांक फाउन्डेसन फर पोलिटिकल इन्नोभेसनको तथ्यांक हेर्दा सन् १९७९ देखि सन् २०१९ सम्म ४० वर्षको अवधिमा ३३ हजार ७६९ इस्लामी आतंकवादी हमला भएका छन् ।
यी घटनामा १ लाख ६७ हजार ९६ जनाले ज्यान गुमाएको उक्त रिपोर्टमा उल्लेख छ । यसका साथसाथै विश्वभर हुने सबै किसिमका आक्रमणको झन्डै २० प्रतिशत हमलाको जिम्मा इस्लामी आतंकवादी समूहसँग जाने रिपोर्टमा उल्लेख छ ।
खासगरी एसिया, मध्यपूर्व र अफ्रिकी क्षेत्रमा बढी हुने गरेका यस्ता आतंकवादी हमलाहरु पछिल्लो समय पश्चिमा मुलुकहरुमा समेत बढेका छन् । न्यूयोर्क, मड्रिड,लण्डन, पेरिस हुँदै मस्कोसम्म इस्लामी आतंकवादी हमलाहरु भएको फाउन्डेसन फर पोलिटिकल इन्नोभेसनको रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानको नाम जडान
सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणका जराहरु पाकिस्तानमा गाडिएका यथेष्ट प्रमाणहरु देखिन्छन् । मुम्बई आक्रमणमा प्रत्यक्षरुपमा संलग्न मानिएका १० आतंकवादीमध्ये ९ जना मारिएका थिए भने अजमल अमिर कसाब दशौँ आतंकवादीलाई पक्राउ गरिएको थियो ।
पाकिस्तानले मुम्बई आक्रमणमा आफ्नो संलग्नताको अस्वीकार गर्दै आएको छ । तर अजमल अमिर कसाबले अनुसन्धानका क्रममा उनीहरु दशै जनाले लश्कर ए तैयब आतंकवादी संगठनको शिविरहरूमा लामो समयसम्म छापामार युद्ध तालिम लिएको बताएका थिए । लश्कर ए तैयब पाकिस्तानमा आधारित इस्लामिक आतंकवादी संगठन हो । मुम्बई घटनाका लागि उनीहरु योजना अनुरुप पाकिस्तानको कराँचीबाट समुद्री मार्ग हुँदै हिँडेको कुरासमेत अनुसन्धानले देखाएका छन् ।
मुम्बई घटनाको जिम्मा मुजाहिद्दिन हैदरावाद डेक्कन समूहले लिएको भन्ने एक ई–मेल सार्वजनिक भए पनि त्यस्तो कुनै संगठन नै नरहेको खुल्न आएको थियो भने सो ई–मेल पाकिस्तानकै एक कम्प्युटरमा फेला परेको अनुसन्धानले देखाएका छन् ।
लश्कर ए तैयब, जैस ई मोहम्मद, हराकत उल जिहाद इस्लामी, हिजब उल मुजाहिद्दिन जस्ता आतंकवादी संगठनहरु पाकिस्तानी भूमिबाट सक्रिय रहेको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरुले देखाएका छन् । यसबाहेक पाकिस्तानमा विश्व लक्षित, अफगानिस्तान लक्षित, भारत कश्मीर लक्षित, घरेलु र साम्प्रदायिक (शिया विरोधी) गरी पाँच किसिमका आतंकवादी संगठनहरु रहेको बताइन्छ ।
उसो त पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफैंले सन् २०१९ मा अमेरिका भ्रमणका क्रममा ३० देखि ४० हजारको संख्यामा पाकिस्तानमा आतंकवादीहरु रहेको स्वीकारात्मक टिप्पणी गरेका थिए ।
अफगानिस्तानमाथिको आशंका र चिन्ता
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमण आतंकवादी हमलाको अर्को डरलाग्दो उदाहरण हो । सेप्टेम्बर ११ को आक्रमणमा संलग्न भएको आरोप जुनसुकै समूहलाई लागे पनि उक्त हमला आतंकवादकै पराकाष्टा हो ।
त्यहाँसम्म पुग्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनेको उही जरा हो जहाँ त्यस्ता हमला गर्ने आतंकवादहरु जन्माइन्छन् । उनीहरुलाई तालिम र हतियार प्रदान गरिन्छ । अमेरिकाले अफगानिस्तानमा आतंकवादविरुद्ध लड्न भनी शुरु गरेको युद्धमा पाकिस्तानले एकातर्फबाट अमेरिकाको साथ दिए पनि अर्कातर्फ अफगानिस्तानी आतंकवादी संगठनहरुसँग कनेक्सन रहेको आरोपसमेत छ ।
आतंकवादी संगठनहरुको आश्रयस्थलको आरोप लाग्ने गरेको अर्को मुलुक अफगानिस्तानमा पाकिस्तानको भूमिका आतंकवादी संगठनहरुविरुद्ध भन्दा पनि आफ्नो स्वार्थ हितको पक्षमा रहेको देखिन्छ ।
सन् १९९७ मा तालिबानले काबुल कब्जा गर्दै त्यतिबेला पाकिस्तानले तालिबान सरकारलाई मान्यता दिएको थियो । सन् २०२१ को अगस्त १५ पनि काबुलको पतन हुँदा पाकिस्तानले दासत्वको साङ्ला तोडिएको टिप्पणी गरेको थियो ।
यी कुराहरुबाट अफगानिस्तानमा आतंकवादी संगठनहरुलाई साथ दिने नदिने भन्दा पनि भारत समर्थित सरकार बन्नु हुन्न भने रणनीतिअनुसार पाकिस्तानले अफगानिस्तानमा भूमिका निर्वाह गर्न खोजेको देखिन्छ ।
यी सबै कुराहरु गर्दा पाकिस्तानले आतंकवादी संगठनहरुलाई साथ नदिए पनि कुनै न कुनै किसिमले ती संगठनहरुबाट आफ्नो स्वार्थ रणनीति अघि सार्नकै लागि भए पनि आतंकवादी संगठनहरुलाई निरुत्साहित पनि गर्न नखोजेको देखिन्छ ।
आतंकवादले निर्दोषहरूलाई मार्न भन्दा बढी अमेरिका र युरोपेली जस्ता लोकतान्त्रिक सरकारहरूलाई काँतर बनाउने सामर्थ्र्य राख्छ । सार्वजनिक बहसलाई निरुत्साहित गर्दै नरमपन्थीहरुको बदनाम र राजनीतिक चरमपन्थीलाई सशक्त बनाएर समाज धुव्रीकरण गर्नेसम्मको क्षमता आतंकवादले राख्छ ।
दक्षिण एसिया र आतंकवाद
अफगानिस्तानमा तालिबानले सरकार नियन्त्रणमा लिएसँगै दक्षिण एसिया र आसपासको क्षेत्र आतंवादी हमलालाई लिएर सशंकित बनेको छ । उसो त अफगानिस्तानमा तालिबानको नियन्त्रण हुनु अघि नै पनि श्रीलंकामा नै डरलाग्दो आतंकवादी हमला भएको उदाहरण छँदैछ ।
सन् २०१९ को अप्रिलमा श्रीलंकाका तीन चर्च र तीन होटेलमा भएको आतंकवादी हमलामा २ सय ६९ जनाले ज्यान गुमाएका थिए । श्रीलंका, बंग्लादेश र माल्दिभ्समा पनि दक्षिण एसियाली आतंकवादी हमलाका प्रहारहरु पुगेका छन् ।
अफगानिस्तानको नियन्त्रण तालिबानले गरेसँगै अब अफगानिस्तान र पाकिस्तानमा आधारित आतंकवादी संगठनहरु झनै सशक्त हुन सक्ने चिन्ता विश्वव्यापी नजरमा बढेको छ । यसको असर विश्वव्यापी रुपमा त छँदैछ सँगसँगै दक्षिण एसियाका लागि झनै खतरापूर्ण देखिन्छ ।
जोगिने कसरी ?
अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा ‘वार अन टेरर’ भनेर युद्ध गरे पनि जुन मुख्य उद्देश्य थियो त्यो उद्देश्य हात पार्न नसकेको आरोप छ । अमेरिका र बेलायतको संलग्नता, नाटो र संयुक्त राष्ट्र संघका पहलहरुले समेत आतंकवादलाई निर्मुल गर्न सकेको छैन ।
यसबाट के देखिन्छ भने जबसम्म आश्रय स्थल मिल्छ आतंकवादी र आतंकवादी समूहहरू संगठित हुनसक्ने, योजना बनाउन सक्ने, कोष जुटाउन सक्ने, सञ्चार गर्न सक्ने, भर्ती गर्न सक्ने, ट्रान्जिट र सुरक्षित रहन सक्ने ठाउँ पाउँछन् तबसम्म आतंकवादलाई निर्मूल गर्न सकिँदैन ।
यसकारण आतंकवादको निर्मूलका लागि दक्षिण एसियामा अफगानिस्तान र पाकिस्तान सकारात्मक र विश्वसँग सहकार्य गरेर अघि बढ्नुपर्ने देखिन्छ । यसो भनिरहँदा आतंकवादी संगठनलाई आश्रयस्थल दिनुपर्ने यस्ता देशहरुको वाध्यात्मक अवस्थामाथि विश्लेषण गर्नुपर्ने हुन्छ । अन्यथा उनीहरुमाथि कारबाही पनि गर्नैपर्ने छ । (एजेन्सीको सहयोगमा)