arrow

कांग्रेस महाधिवेशनः प्रतिनिधिमा नवलपरासीबाट संस्थापन कमजोर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
congress-14th-general-convention.jpg

परासी। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनोटमा संस्थापन पक्ष कमजोर देखिएको छ । इतर गुटले बहुमत प्रतिनिधि जितेको छ । महाधिवेशन प्रतिनिधि केन्द्रीय समिति निर्वाचनका मतदाता हुन् । केन्द्रीय समिति चयनका लागि निर्वाचितसहित कुल ५३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । जसमा २९ जना इतर गुटका छन् भने २४ जना संस्थापन निकट छन् । 

महाधिवेशन प्रतिनिधिमा २ निर्वाचन क्षेत्रको अधिवेशनबाट ५० जना चुनिएका छन् । २ जना निर्वाचित क्षेत्रीय सभापति स्वतः प्रतिनिधि रहने व्यवस्था छ । जसअनुसार २ निर्वाचन क्षेत्रबाट २ जना सभापति रहने छन् भने केन्द्रीय सदस्यसमेत प्रतिनिधि रहने व्यवस्थाले सांसद एवं केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल महाधिवेशन प्रतिनिधि रहेका छन् ।

तीमध्ये संस्थापन इतरको १ क्षेत्रीय सभापतिसहित २९ जना निर्वाचित भएका छन् । संस्थापनको १ क्षेत्रीय सभापति र केन्द्रीय सदस्य कँडेलसहित २४ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । 

जिल्लामा संस्थापनमा रहेका पूर्वगृहराज्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ । केन्द्रमा संस्थापन इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् । दुई गुटबीच जिल्लामा पानी बाराबारको स्थिति छ । 

अधिवेशनमा निर्वाचन क्षेत्र नं १ मा इतर गुटले कार्य समितिसहित २५ जना सबै महाधिवेशन प्रतिनिधि जितेको छ । त्यस क्षेत्रमा संस्थापन गुटका क्षेत्रीय सभापतिका उम्मेदवार अशोकजंग राणालाई इतर गुटका मुकुलकुमार आचार्यले २३४ मत अन्तरले हराउँदै कार्यसमितिको प्यानल नै जितेको हो । 

क्षेत्र नं २ मा संस्थापन गुटले कार्यसमिति प्यानल नै जितेको छ । त्यस क्षेत्रमा संस्थापनका सभापतिका उम्मेदवार माधवप्रसाद पाण्डेले इतर गुटका नरेन्द्रकुमार गुप्तालाई ५३ मतअन्तरले हराएका छन् । पराजित गुप्ता रामग्राम नगरपालिकाका मेयर हुन् । 

महाधिवेशन प्रतिनिधि जित्ने संस्थापन इतर गुटमा क्षेत्र नं १ बाट संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवकरण जयसवाल छन् । त्यस्तै लालबहादुर गुरुङ, उमेशचन्द्र यादव, कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद पाण्डे, चन्द्रप्रसाद ढकाल, तारा न्यौपाने, लालबहादुर अधिकारी र विश्वप्रेम पाठक छन् । 

त्यसैगरी भीमा गिरी, जीवनाथ पौडेल, सुकबहादुर गुरुङ, सुशिलादेवि कलवार, बन्धु बरई, नीता हरिजन, कर्णबहादुर विश्वकर्मा, रीता फौजदार, गिरिशबहादुर थारु, बदरुल हक खान र पवनकुमार गुप्ता, धममती सापकोटा, सीता चापागाई, सुमित्रा बाँस्तोला र ज्ञानीमाया लामाले इतर गुटबाट महाधिवेशन प्रतिनिधि जितेका छन् । 

क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि जित्ने संस्थापन गुटमा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, ऋषिराम पौडेल, मोहनप्रसाद शर्मा, राधेश्याम पाठक, यज्ञप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, लालबहादुर सेन ठकुरी छन् ।

त्यस्तै रम्भा कुँवर, मञ्जु कँडेल, दुर्गाबहादुर गुरुङ, पावित्रीदेवी कोहाँर, राजेश यादव, रामचन्द्र मौर्य, विनोद गौतम हरिजन, मिना चौधरी, महेन्द्र राय थारु, तौखिक अहमद अन्सारी र शिवशंकर राय छन् । 

उक्त गुटबाट प्रतिनिधि जित्नेमा अनिता शर्मा, ज्योती ढकाल, सीता ज्ञवाली र सुनिताकुमारी श्रेष्ठ छन् । त्यस क्षेत्रबाट संस्थापन इतर गुटबाट प्रतिनिधि जित्नेमा गुणनीधि तिवारी, अर्जुनकुमार पोखरेल र भीमबहादुर थापा छन् । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि अहिले नेताहरु जिल्ला अधिवेशनको दौडधुपमा लागेका छन् । निर्वाचन क्षेत्र अधिवेशनको मत परिणामअनुसार संस्थापनइतर गुटको वर्चश्व देखिएको छ । 

संस्थापन गुटभन्दा इतर गुट १८२ मतले अघि देखिएको छ । मत परिणामले संस्थापन इतरका नेताहरु पूरै जिल्ला समिति जित्नेमा ढुक्क हुँदै प्रचार प्रसारमा जुटेका छन् । जिल्ला सभापतिका लागि दुवै गुटले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

संस्थापन गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललाई सभापतिको उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेका छ्न् । जिल्लामा कुल १३ सय ३८ जना मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ