arrow

डराएका प्रधानमन्त्री ओलीः समस्या र समाधान 

logo
सोमराज पोखरेल,
प्रकाशित २०८१ भदौ १६ आइतबार
kp-sharma-oli-81-4-30ww.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सामान्यतया प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झोँक्की स्वभावमा निडर नेता मानिन्छन् । उनी आगामी दिनको पर्वाह नगरी कसैको आलोचना गर्नुपर्ने भए मज्जैले भित्तामा पुग्ने गरी नै भन्छन् । चाहे उनको आफ्नै पार्टीका हुन् वा अर्काको पार्टीका नेतालाई । त्यतिमात्र होइन छिमेकी देशका नेताहरुलाईसमेत उनी नयाँ शैली अपनाएरै पेल्ने गर्छन् । 

भन्नेहरु भन्छन् ओलीमा जे छ त्यो बोलीमै छ । यसअघि दुई कार्यकाल प्रधानमन्त्री भएर जसरी उनले हुकुमी शैलीमा सरकारको नेतृत्व गरे यसपालि त्यो शाख देखिएको छैन । 

खासमा अहिले त उनको दलभन्दा बलियो पार्टी नेपाली कांग्रेसको साथ छ । यसपालि उनी डराएको हाउभाउमा प्रस्तुत हुन थालिसकेका छन् । 

यसको प्रमुख कारण हो उनलाई पत्याइदिनेको कमी । उनको पार्टीका नेताहरु बाध्यतामा परेर हो मा हो थप्ने बाहेक सत्तामा भएकै सहयात्री दलका नेताहरुले उनको तथाकथित बोलीलाई स्वीकार्ने अवस्था नै छैन । 

किनकि उनले संविधानको अक्षरसः पालना गर्छु भने तर यसअघिको कार्यकालमा दुई पटकसम्म संविधानको अवमूल्यन गरेर संसद विघटन गरे । सत्ता बाहिर भएका दलले बहुमत पुर्याएर राष्ट्रपति कार्यालयमा निवेदन दिँदासमेत उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई अस्वीकार गर्न लगाएर आफूलाई नै प्रधानमन्त्री नियक्त गर्न भने । उनकै इशारामा भण्डारीले संसदका दुवै सदनबाट पारित भएर दुई दुई पटकसम्म प्रमाणीकरणका लागि गएको नागरिकता विधेयकलाई रोकाइदिए । 

उनी आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार नगर्ने भनेर यसअघिको कार्यकालमा शून्य सहनशीलताको नारा घन्काए । आफूले भ्रष्टाचारीलाई नदेख्ने पनि बताए । तर तिनै ओलीको त्यो पालामा नेपाल सबैभन्दा भ्रष्ट सरकार ठहरियो । त्यो पनि अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा । 

यी विगतका ओलीका छवि हेर्दा उनी फेरि प्रधानमन्त्री भएर गरेका भ्रष्टाचार विरुद्धका प्रतिबद्धता फगत नाटक हुन् भन्ने नै ठानेका छन् अधिकांशले । 

ओलीले आफूलाई धेरैले विश्वास नगरेको अनुभूति भने गरेको हुनुपर्छ । त्यसैले त उनले आफ्नो प्रधानमन्त्री कालको दिनगन्ती आफैँले गर्न थालेका छन् । 

शनिबारमात्रै उनले सार्वजनिक कार्यक्रममै आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएर एक एक दिनको हिसाबकिताब राखेको छनक दिएका छन् । 

यसले उनका लागि यो कार्यकाल सहज छैन भन्ने पनि स्पष्ट पार्छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले त्यसभन्दा हप्ता दिन अगाडि नै प्रधानमन्त्री पद छोड्ने बताएका छन् । उनले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको बताए । 

त्यसो त केही समयअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई ब्यङ्ग्य गर्दै संसदको बैठकमै भनेका थिए, ‘जे उहाँले बोल्नुहुन्न त्यही गर्नुहुन्छ जे उहाँले बोल्नुहुन्छ त्यो गर्नुहुन्न ।’ 

विगतलाई कोट्याउने हो भने ओलीले बोलेको भन्दा नबोलेको गर्छन् अनि गर्छु भनेर बोलेको गर्दै गर्दैनन् । त्यसैले उनको दिनगन्तीलाई पनि शंकाको दृष्टिले हेर्न थालिएको छ ।   

शनिबारको कार्यक्रममा उनले भने, ‘मैले सधैँ मै नेतृत्व गर्छु नेपालको । मै प्रधानमन्त्री हुन्छु भनेर हुन्छ अब ? मलाई मन नपराउनेहरूका लागि म खुशीको खबर भन्दिन चाहन्छु, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ । मन नपराउनेहरूलाई खुशीको कुरो । त्योभन्दा पनि अलि हप्ता दिन अगाडि नै छोड्छु भनेको छु मैले । बढी खाउँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ ।’

यसो भनिरहँदा उनको डराएको भाव भने झल्कन्थ्यो । किनकि उनको यो कार्यकाल धेरै हिसाबले सहज छैन । 

किन डराइरहेका छन् ओली ? 
२०६२–६३ को जनआन्दोलन चलिरहँदा ओलीले बयलगाडा चढेर अमेरिका पुगिँदैन भनेका थिए । तर त्यही बयलगाडा चढेर आएको लोकतन्त्रबाट उनी तीन पटक कार्यकालका हिसाबले (औपचारिक रुपमा भने चार पटक) प्रधानमन्त्री भइसकेका छन् । 

नेपालमा लोकतन्त्र आएपछि सबैभन्दा फापेका नेता कोही छन् भने ती केपी ओली नै हुन् । उनी लोकतन्त्र आएपछि सबैभन्दा बढी पटक प्रधानमन्त्री भएका छन् । 

यद्यपि उनी डराउनु पर्ने कारणहरू बुँदागत रूपमा:

१. बाह्य शक्तिको हौवाः नेपालको राजनीति नेपालबाट चल्दैन भनेर दोष दिइन्छ । बाह्य शक्तिको प्रभाव चलिरहेको छ भनिन्छ । तर संविधान जारी गर्दाकै समयलाई हेर्ने हो भने कतिपयले २०७२ असोज ३ गते संविधान जारी गर्न चाहेका थिए होला कतिले अझ राम्रो बनाउनु पर्छ भनेका थिए होला । र पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दृढता साथ संविधान जारी गर्न अहम् भूमिका खेले । यसबाट के स्पष्ट हुन्छ भने चाहँदा नेपालले आफ्नै बलबुँताले गर्न सक्छ । केपी ओलीले पनि नेपालको समस्यामा बाह्य शक्तिलाई दोष दिनुभन्दा आफ्ना असफल नीतिहरू हेरेर पाठ सिक्नुपर्नेछ । 

२. छिमेकी देशको परिवर्तनको तरङ्गः श्रीलंका र बंगलादेशमा युवाहरूले देखाएको क्रान्ति छोटो समयको ठूलो उपलब्धि हो परिवर्तनका लागि । तर त्यो कति सान्दर्भिक र कति असान्दर्भिक तपसिलको कुरा । यद्यपि युवाले चाहे भने अब लामो समयको क्रान्ति पर्खदैनन् भन्ने देखाएको छ । यसका लागि पनि केपी ओली पुरानै ढर्रामा हैन नयाँ शिराबाट अगाडि बढ्नु पर्ने चुनौती छ । ओली आफैँसमेत यो परिवर्तनबाट स्तब्ध छन् । किनकि बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना ओलीकी निकट मित्र थिइन् । जसरी बर्खास्त गरियो त्यसले ओलीलाई गहिरो चोट पुर्याएको छ । त्यसो त ओलीले नेपालमा बङ्गलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् । उनले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झाएर बङ्गलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको बताएका छन् । यसरी स्पष्टीकरण दिनुपर्ने आवश्यकता डरले पैदा गरेको भनी विश्लेषण थालिएको छ । 

३. छिमेकीको निम्तो नपाउनुः छिमेकीको निम्तोले पनि केपी ओलीलाई थप चिन्तामा पारेको छ । यसअघि पहिलो र दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदासाथ बधाईको ओइरो आउँदै गर्दा भ्रमणको पनि निम्तो आउने गर्दथ्यो । तर यसपालि प्रधानमन्त्री नियुक्त भएको डेढ महिना नाघ्दासमेत दुई छिमेकी देशहरू भारत र चीनबाट कुनै निम्तो नै आएको छैन । परराष्ट्र मन्त्री डा आरजू राणा देउवा भारत पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर आउँदासमेत ओलीलाई अझ भारतले निमन्त्रणा गरेको छैन । अर्कातर्फ चीनले कम्युनिष्ट नेता प्रधानमन्त्री हुनासाथ भारतले भन्दा पनि पहिले आफूले स्वागत गर्न पाए हुने भनी इच्छा राख्ने गर्दथ्यो । यसपालि त्यो हुन सकेको छैन । जसका कारणले गर्दा पनि ओलीको आत्मविश्वास कमजोर भएको विश्लेषण गरिएको छ । 

४. प्रचण्ड–माधव–रविको षड्यन्त्रः डराएका ओलीले अब हरेक कुरामा षड्यन्त्र देख्छन् । ती षड्यन्त्र गर्ने पात्र यतिबेला कोही हुन् भने प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् । कुनैबेला रविलाई काखी च्यापेका ओलीलाई अहिले तिनै रविले षड्यन्त्रमा फसाउने जाल रच्दै गरेको भान ओलीलाई भइसकेको छ । ओलीमा देखिएको डरको फाइदा उठाएर आफूविरुद्ध आन्दोलन भड्काइरहेको शंका उनमा पसिसकेको छ । ओलीलाई गल्ती गर्न बाध्य पार्ने र नेपाली कांग्रेससँगको गठबन्धन तोड्ने उनीहरुको उद्देश्यप्रति ओली थप चिन्तित बनेका छन् । यसमा माधवकुमार नेपालको पार्टीसमेत रहेको नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्दको पार्टीसमेत सहभागी रहेको समाजवादी मोर्चासमेत लागेको चस्को ओलीमा परेको छ । 

५. चीनविरुद्ध बोल्न सक्ने आँटः कुनै समय चीनले नेपालका कम्युनिष्टहरुलाई एक जुट हुन गरेको प्रयास अहिले आएर असफल भएको छ । एमालेसँग कांग्रेस जोडिएको छ सत्ता सहयात्राका लागि । यसलाई बुझेसँगै चीन यो सरकारप्रति रुष्ट छ । उसले सहजै यो सरकारलाई सफल हुन दिने देखिएको छैन । र पनि केप ओलीले केही बोल्ने आँट गरिरहेका छैनन् । यो पनि एक किसिमको डर नै हो । ।

समाधान के त ? 
शंका छैन एमाले र कांग्रेस नेपाली राजनीतिको गोलार्धका दुई कित्ता हुन् । विपद्का बेला बाहेक यी दुई दल मिल्दैनन् । प्रजातन्त्र ल्याउँदा, बहुदल ल्याउँदा होस् वा गणतन्त्र कांग्रेस कम्युनिष्ट एक भएकै छन् । 

अस्थिर सरकारले निरन्तरता पाएर मुलुकलाई खिचडी पारिरहँदा कांग्रेस–एमालेले मिलेर फेरि यो भूमरीलाई अन्त्य गर्ने सोचे । यो सोच नराम्रो हैन । तर जनताको विश्वास कांग्रेस एमालेले कत्तिको जित्न सक्छन् भन्ने महत्वपूर्ण हो । 

केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवामा अनुभवको कुनै कमी छैन । बस अब कमी छ त देखिने गरी हुने कामको । भ्रष्टाचार अन्त्य गर्न सकिन्छ । बिजारोपण गरेर मलजल गर्न सकिन्छ भने त्यो जालोलाई तोड्न पनि सकिन्छ । यसमा किन्तु परन्तु भन्नुपर्ने कुरै छैन । 

दाउमा अहिले केपी ओलीमात्र छैनन् देउवा पनि छन् । एमालेमात्र छैन कांग्रेस पनि छ । चुनावका बेलामा भए नभएका आश्वासन दिने नेपाली राजनीतिको चलनले जे पनि भने होलान् नेताले । अहिले चुनावको बेला हैन । अहिले त नितान्त काम गर्ने बेला हो । दुवैका घोषणापत्रलाई एउटा मिलनबिन्दुमा ल्याएर काम गर्ने बेला हो । 

दुवैका घोषणापत्रमा मुलुकमा सुशासन ल्याएर बेरोजगारी, भोकमरी र गरिबीको समस्या समाधान गर्ने उद्धेश्य राखिएकै छ । काम गर्न रोक्यो कसले ? भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने भनिएकै छ । रोक्यो कसले ? आधारभूत समस्याको पहिचान गरी ती समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै जानु पर्नेछ । 

केही दिनअघि कांग्रेस र एमालेका मन्त्रीहरु आपसमा भिडेको देखिएको थियो । विशेषगरी त्रिभुवन विश्वविद्यालयको विषयलाई लिएर शिक्षामन्त्रीले गृहमन्त्रीलाई दोष दिएको र विवादमा तान्न खोजिएको थियो । यसले विकास हैन विनाश गर्ने हो । 

ओलीले आफू आत्तिएका हुन् भने देउवासँग सल्लाह लिनुपर्छ । देउवाले सही समाधानका लागि उपसभापतिहरु, महामन्त्रीहरु लगायतका पदाधिकारीको सल्लाह लिनुपर्छ । 

ओली भाषणमा मात्र दमदार भएको काममा सक्षम नभएको प्रधानमन्त्रीका रुपमा चित्रित देखिन्छन् । तर उनले आफ्नो गल्तीलाई ढाकछोप गर्ने हैन आफ्नो कार्यकाललाई सुनौलो बनाउन पनि विगतका गल्तीबाट पाठ सिकेर अगाडि बढ्नु पर्नेछ । 

ओलीको यो कार्यकाल असफल भयो भने उनीमात्र हैन सिंगो पार्टी नै असफल हुनेछ । साथै उनले कांग्रेसलाई पनि डोहोर्याएर खाल्डोमा हाल्ने छन् नै । 

भित्रैदेखि आत्तिएका ओली अरुलाई अपमानजनक अभिव्यक्ति दिएर उनीहरुको जालमा फस्ने काम नगरुन् कामले जवाफ दिउन् । आधारभूत शासन सञ्चालन गर्न असफल भएका देशमा आफ्ना अतिराष्ट्रवादी नीतिहरूविरुद्ध जनताको असन्तुष्टिलाई स्वीकार गर्न अस्वीकार गर्ने हैन कि त्यसबाट पाठ सिकेर सुधार गर्दै लैजानुपर्छ । 

आफूविरुद्ध लागेका दाग मेटाउन जति पनि भ्रष्टाचारका काण्डहरु छन् तिनीहरुको निष्पक्ष छानबिनका लागि आफैँले अग्रसर हुनुपर्छ । चर्चित मानिएका गिरीबन्धु, ओम्नी, यती, वाइडबडी, नक्कली भुटानी शरणार्थी र सुनकाण्ड नै किन नहोस् निष्पक्ष छानबिन गरी कानूनी कारबाहीको दायरामा ल्याउनु नै पर्नेछ । 

अन्त्यमा दोष अरुलाई दिने हैन कमजोरी आफूमाथि नै छ भन्ने भएपछि सुधार गर्ने हो । सुधारिनुको विकल्प छैन । जसरी खुलेआम राजालाई गाली गर्दा र विरोधको नारा घन्काउँदा केही भएन भन्ने लाग्छ भने गणतन्त्रमा आफूविरुद्ध नारा लाग्दा पनि सोही अनुसारको संयम अपनाउनु पर्छ । माथि भनिएझैँ उक्साउनका लागि गरिएका त्यस्ता कदमलाई सहज रुपले ग्रहण गरेर देशको उन्नतिमा लाग्नुको विकल्प छैन । जनचाहनाको सम्बोधन बिना गणतन्त्र सुदृढ हुनै सक्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ