एमाले इतिहासमा पहिलो घटना, उम्मेदवारी दर्ता गर्ने दिन अध्यक्षलाई सर्वाधिकार
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
916
Shares
चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ ।
अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५–२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नेछन् । एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लष्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी उक्त प्रस्ताव गर्ने बताए ।
तर सो प्रस्तावलाई उपाध्यक्ष डा भीम रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराए । शनिबारको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट गरे । । महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जनाए ।
महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सर्वसम्मतिका लागि शनिबार दिनभर नेताहरू आन्तरिक छलफलमा थिए भने कार्यकर्ताले दबाब दिएका थिए ।
बन्दसत्रका क्रममा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत अहिलेको आवश्यकता रहेको भन्दै सर्वसम्मत हुँदैमा लोकतन्त्र नमिचिने बताए । उनले मतदान र सर्वसम्मत दुवै निर्वाचनका प्रक्रिया रहेको भन्दै चुनाव लड्ने अधिकारी सवैलाई रहेको बताए ।
बन्दसत्र आइतबार १० बजे पुनः सञ्चालन हुनेछ ।
यो निर्णयपछि भने एमालेको महाधिवेशन केबल कर्मकाण्डीमात्र बनेको छ । नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा पहिलो पटक उम्मेदवारी दर्ता गर्ने दिन फ्लोरले कार्यसमिति नै चुनावका लागि मात्र भएको अवस्थामा अध्यक्षलाई सर्वाधिकार दिएर पदाधिकारी छान्ने सुविधा दिएको हो ।