arrow

दलहरूको महाधिवेशन खर्च र यसले पार्ने आर्थिक व्ययभार

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ मंसिर १२ आइतबार
rajendra-panthi-article-14a.jpg

नेपालका प्रायः सबै ठूला राजनीतिक दलहरूको महाधिवेशनको तिथि मिति घोषणा भएको छ । एमालेको सकिने क्रममा छ । नेपाली कांग्रेस, राप्रपा र नेकपा माओवादी केन्द्रको पनि नजिकिँदै छ । राजनीतिक दलहरूका निर्वाचन, सभा, समारोह, अधिवेशन, महाधिवेशन अत्यन्तै खर्चिला रहेका छन् । राजनीतिक दलका आम्दानी भनेका चन्दा, सहयोग र लेबी नै हुन् । दलहरूको खर्चको कुनै पारदर्शिता नै छैन ।

निर्वाचन आयोगमा दलहरूले बुझाउने खर्च विवरण केबल हात्तीका देखाउने दाँतजस्तो मात्र छन् । पछिल्लो चरणमा नेपालको राजनीति अत्यन्तै महँगो र खर्चिलो हुँदै गएको देखिन्छ। राजनीति मूल्य, मान्यता, सिद्धान्त भन्दा पनि तामझाम र पैसामुखी भएको छ। जब राजनीतिको व्यापारीकरण हुन थाल्छ अनि भ्रष्टाचार मौलाउँदै जान्छ । राजनीतिमा पैसाले नेता, नीति, विधि र प्रक्रिया सबैलाई भ्रष्टीकरण बाटो अवलम्बन गराउँछ ।

अहिले दलहरूको महाधिवेशनमा अव्यवस्थित र अत्यधिक गरिने खर्चले देशको आर्थिक व्ययभारमा ठूलो असर पार्दछ। नेताहरूको अन्तर्वार्तामा यति ठूलो खर्च किन गरिदै छ भनिएको प्रश्नमा ठाडो उत्तर छ। जिम्मेवार दलका जिम्मेवार नेताले आफैं कमाइन्छ आफैं खर्च गरिन्छ किन दुनियाँले टाउको  दुखाउनु पर्यो भन्ने कुरा पनि सुनियो । यस्ता उत्तरले दलको हैसियत र नेताको राजनीतिक चेतनाको स्तर कति रहेछ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ। दलहरू भनेका  सार्वजनिक चासोको विषय र  जनउत्तरदायी हुनुपर्छ ।

दलहरू भनेका जनताका आशा र भरोशाका केन्द्रबिन्दू हुन् र जनताकै लागि र उनीहरूको राजनीतिक आधार भनेकै जनता  हुन् । त्यसलै उनीहरूको आर्थिक क्रियाकलाप पारदर्शी हुनुपर्छ । पैसा जताबाट उठाइयोस् आखिर त्यो त राष्ट्रकै पूँजी हो र खर्च पनि राष्ट्रकै हो । महाधिवेशनको नाममा करोडौं रुपैयाँ खर्च गरेर त्यसले नेपाली जनतालाई के दिन्छ ? गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार ।

अनावश्यक तामझाम र फोकट खर्चले दिने भनेको रोग, भोक, बेरोजगार नै हो । केही सीमित वर्गलाई केही कमाई होला आम जनतालाई कुनै फाइदा छैन। हजारौं जनतालाई सभा समारोहका नाममा रातदिन भोकै दुःख दिएर भेला गर्नुको कुनै उद्देश्य छैन । नेपालमा अबको आवश्यकता भनेको व्यवस्था परिवर्तन होइन जनताको जीवन स्तर परिवर्तन चाहिएको छ । दलहरू जनता भेला गर्ने प्रतिस्पर्धाले देशको आर्थिक स्तर झन् खस्किन्छ। तामझामको बाहिर आवरण भन्दा जनताको घर आँगन पुगी उनीहरूको भित्री इच्छा, दुःख–सुख र आधारभूत आवश्यकताहरू परिपूर्ति गरिदिन सक्ने हो भने मन सजिलै जित्न सकिन्छ ।

बहुदलीय प्रजातन्त्रको पुनः बहाली भएको तीन दशकमा जनताले धेरै भाषण सुने, भाषणले नेपाली गरिब र दुःखी जनताको पेट भरिन्न । आजका कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका दलको प्रमुख उद्देश्य भनेको आफू जसरी पनि कुर्सीमा पुग्ने भन्ने छ । जनताको जीवनस्तर कसरी उकास्ने भन्नेमा कहिल्यै बहस भएको छैन । जहिले पनि एउटा निहुँ सिर्जना गरी एकापसमा मिलेर राजनीतिक अस्थिरता सिर्जना गर्ने अनि ढुकुटी रित्याउने प्रपञ्च बाहेक केही छैन । देशको विकासको लागि सबै दलमा एउटा निश्चित भिजन हुनुपर्छ र एकजुट हुनुपर्छ अनि मात्र समृद्ध नेपाल र सुखी नेपाली नारा साकार हुन्छ । दलदलका बीचमा हिलो छ्यापाछ्याप गरेर, गाली गलौजको शैली अपनाएर भ्रमको खेतीले देशको आर्थिक समृद्ध हुन सक्दैन ।

विगत दुई वर्षदेखि कोरोनाको महामारीले विश्वको अर्थतन्त्रमा गिरावट आएको छ । यसले नेपालको अर्थतन्त्रलाई पनि ठूलो असर पारेको छ। विदेशमा रोजगारको लागि गएको जनशक्ति नेपाल फर्किएको अवस्था छ । आज लाखौं मानिसहरू काम नपाएर बेरोजगार भएका छन् । उद्योग, कारखाना, व्यापार र व्यवसाय ठप्प प्रायःनै छ। यस्तो अवस्थामा दलले महाधिवेशनको नाममा करोडौं रुपैयाँ नारायणी वा बागमतीको बालुवामा खन्याएर उपलब्धि झन घढ्दै जाने हो फाइदा केही छैन । 

अबको राजनीति भनेको विचार, विकास र चेतनाको हुनुपर्छ । करोडौं खर्चेर हुलहुज्जत, सभा र समारोहको आवश्यकता छैन । यस्ता अनावश्यक खर्चको कटौती गरी विकासमा लगाउनु पर्छ । ठूला दलहरूको महाधिवेशनको जम्माजम्मी  सामान्य खर्च पनि पचास करोड भन्दा माथि हुने देखिन्छ । त्यसभन्दा नदेखाउने र नदेखिने खर्च पनि करोडौं हुन्छ । यति ठूलो श्रोतलाई कोरोना महामारी भएको वर्तमान परिवेशमा पनि जनताको औषधि उपचारमा लगाउन सक्ने हो भने जनता प्रत्यक्ष लाभान्वित हुने थिए । दलहरूका चुनाव, सभा, समारोह र अधिवेशनमा यस्ता थुप्रै अनुत्पादक खर्चहरू भइरहेका छन् । दलहरूले अस्वस्थ्य, अश्लील र देखावटी राजनीति गर्ने परिपाटी अन्त्य गरिनु पर्छ ।

राजनीतिक दलहरूले महाधिवेशनमा  लाखौं जनतालाई उतार्नुको सट्टामा निश्चित प्रतिनिधिलाई भेला गराई नीति, विधान र नेतृत्व चयन गर्ने हो भने करोडौं रुपैयाँ जोगिन्छ। यस्तो करोडौं रुपैयाँलाई जनताले  प्रत्यक्ष अनुभूति गर्ने गरी जनताको लागि नै खर्च गर्ने हो भने दलहरू झन् बलिया हुन सक्छन् । राजनीतिका नाममा बेरोजगारी सिर्जना गरिएको छ। सबैले राजनीति गर्ने होइन, बेरोजगार जनशक्तिलाई कृषि, उद्योग, व्यवसाय, पर्यटन, व्यापार आदि जस्ता आर्थिक स्तर बढाउने क्षेत्रमा लगाउनु पर्छ ।

राजनीतिक बेरोजगारीले भ्रष्टाचार मौलाउनु एउटा कारण हो । दलका नेता र कार्यकर्ता बेरोजगार हुनाले पनि देशमा राजनीतिक अस्थिरता र भ्रष्टाचार मौलाएको हो। काम छैन, आय श्रोत छैन अनि के गर्ने नेताको चाकरी र चाप्लुसी गर्नुपर्छ अनि कार्यकर्ता र दल चलाउन भ्रष्टाचार गर्नुपर्ने हुन्छ ।

अब नेताहरू गाउँगाउँमा गएर विकास र समृद्धिको लहर ल्याउनु पर्छ । जनतालाई आधुनिक र वैज्ञानिक जीवन पद्धति बनाउनको लागि शिक्षा र चेतना दिनुपर्छ अनि मात्र समाज रुपान्तरण हुन्छ। अब थोत्रा आश्वासन र दिवा सपनाले नेपाली जनताको  सामाजिक आर्थिक प्रगति सम्भव छैन। दलहरू तामझाम र फोहोरी राजनीतिको पछाडि नदौडिइ स्वच्छ र स्वस्थ्य आलोचनात्मक  राजनीतिक प्रतिस्पर्धामा उत्रिन सक्नुपर्छ देश र जनता सुखी र खुशी हुन्छन् ।

लाखौं जनशक्तिले एक दिन काम नगर्दा त्यसले देशको आम्दानीमा ठूलो असर गर्दछ अनि त्यसैमा फेरि अनुत्पादक खर्च गरिँदा झन् ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था हुन आउँछ । त्यसकारण दलहरूले बडो संवेदनशील र गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । जनशक्तिलाई अनुत्पादक क्षेत्रमा लगाउनु भन्दा उत्पादक क्षेत्रहरू व्यावसायिक कृषि, उद्योग, व्यापार आदिमा परिचालन गरिनुपर्छ। 

बेरोजगारीका कारण देशमा गरिबी, बिरामी र निराशा बढ्ने, अपराधमा वृद्धि, कुलत एवम् दुर्व्यसनीमा वृद्धि, भ्रष्टाचार आदि जस्ता जटिल समस्या देखा पर्छन्। जनताहरू नेताको वरिपरि घुम्ने होइन नेताहरू जनताको वरिपरि घुम्ने वातावरण गराउनु पर्छ । नेताको चाकरी र चाप्लुसीको कारण पनि भ्रष्टाचार अत्यधिक मौलाएको छ। जनताहरू पनि धेरै चेतनशील र होशियार हुनुपर्छ। दलहरूको भड्किलो, तामझाम र अनुत्पादक खर्चलाई रोक्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ