गण्डकी हाँक्न कांग्रेसका पाँच आकांक्षी, संस्थापनबाट जोशी, इतरबाट तितरवितर
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
942
Shares
काठमाडौं । नेपाली कांग्रेसले मुलुकको संविधानले परिकल्पना गरेको संघीय संरचना अनुसार पहिलो पटक प्रदेश तहको संरचनाका लागि नेतृत्व चयन गर्दै छ। कांग्रेसले हिजो सोमबार परिमार्जन गरेको कार्यतालिका अनुसार यही १७ र १८ मंसिरमा प्रदेश तहको संरचनाको नेतृत्व चयनका लागि पहिलो अधिवेशन हुनेछ।
प्रदेश संरचनाको नेतृत्व लिन गण्डकी प्रदेश समितिको सभापतिमा पूर्व मन्त्री, सांसद र जिल्लाको नेतृत्व सम्हालिसकेका हस्तीहरुले दौडधुपसमेत बढाएका छन् । केन्द्रीय अधिवेशनमा जस्तै प्रदेश तहको अधिवेशनमा पनि गुट अनुसार नै समूह बनाएरै मैदानमा उत्रिने गरी तयारी भइरहेको देखिन्छ ।
संस्थापन समूहबाट गण्डकी कांग्रेसको नेतृत्व लिन केन्द्रीय सदस्य अर्जुन जोशी अघि बढेका छन् । उनी सभापति शेरबहादुर देउवासँग निकट छन् । उनी पर्वतबाट राजनीतिमा सक्रिय छन् । उनले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
गण्डकी प्रदेशको प्रदेश नेतृत्व लिन कास्की कांग्रेसका सभापतिको अनुभव लिइसकेका देवराज चालिसेले पनि गत बुधबार नै उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी संस्थापन इतर समूहका हुन् । उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट बाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता रबिन्द्र अधिकारीसँग पराजीत बनेका थिए ।
सो प्रदेशबाट पूर्वमन्त्री यज्ञबहादुर थापा पनि प्रदेश संरचनाको पहिलो सभापति हुने गरी लविङमा लागेका छन् । उनी २०७० सालमा संविधान सभा सदस्य बनेका थिए भने उनी पूर्व मन्त्रीसमेत हुन् । उनी कास्की १ बाट राजनीतिमा सक्रिय छन् भने कास्कीका पूर्व सभापतिसमेत हुन्।
२०७४ सालको निर्वाचनमा भने उनी पराजीत बनेका थिए । यस्तै २०३६ सालमा विमलेन्द्र निधि नेविसंघ अध्यक्ष हुँदा थापा उपाध्यक्ष थिए । उनी संस्थापन इतर समूहकै मानिन्छन् ।
यसैगरी इतर समूहबाटै शुक्रराज शर्माले पनि प्रदेशको नेतृत्व लिने दौडमा आफूलाई अघि सार्ने तयारी गरिरहेका छन्। उनले १७ वर्ष कास्की कांग्रेसको नेतृत्व सम्हालेका छन् । उनीसमेत २०७४ को निर्वाचनमा बाम गठवन्धनकै उम्मेदवार जगत विश्वकर्मासँग पराजीत बनेका थिए ।
शर्माले उमेरले पनि आफू पाको भएको र कांग्रेसलाई अनुशासन र पद्धतिमा चलाउन आफूले प्रदेश सभापतिमा इच्छा राखेको बताए ।
यस्तै तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेलले पनि गण्डकी प्रदेश सभापतिका लागि आकांक्षा राखेका छन्। उनलेसमेत प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी इतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट छन् ।
‘पार्टीको गुटबन्दी अन्त्यका लागि गण्डकी प्रदेशको सभापतिमा मैले उम्मेदवारी दिंदैछु, आगामी निर्वाचनमा तीनै तहमा गण्डकी कांग्रेसलाई जिताउने मेरो ध्येय छ,’ पौडेलले उम्मेदवारी घोषणा गर्दै भनेका थिए ।
उनले पार्टी भित्रको राजनीतिमा पैसा नहुनेहरु कमजोर बन्ने गरेको त्यसले गर्दा नीति र पद्धति नै समाप्त हुने खतरा बढेको भन्दै आफू नेतृत्वमा आए त्यसतर्फ पनि ध्यान दिने बताएका छन् ।
कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिमा सभापति एक, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुनेछन् । प्रदेश सभापतिले निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष चुन्न पाउने विधानमा व्यवस्था छ।