राप्रपाले आज नेतृत्व छान्दै, १४९ जनाका लागि २६६ जनाको उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
432
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । १४९ सदस्यीयको निर्वाचन हुँदैछ भने बाँकी पछि मनोनयन हुनेछने ।
यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए । प्रारम्भिक नामावली २ बजे प्रकाशित हुनेछ ।
उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।
देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् । शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ ।