arrow

राप्रपा अध्यक्षमा पराजित भएका कमल थापा पूर्वराजा ज्ञानेन्द्रपछि हिमानीसँग खनिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
kamal-thapa-rpp4343.JPG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा पराजित भएपछि कमल थापा पूर्व राजपरिवारका सदस्यहरुसँग पनि आक्रोशित भएका छन् । आफू पराजित हुनुको कारण निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै आक्रोशित भएका थापा पूर्व युवराज्ञी हिमानी शाहप्रति पनि आक्रामक देखिएका छन् ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि १५ वर्षदेखि एकलौटी रुपमा पार्टी हाँकिरहेका थापाले सामाजिक संजालमार्फत निरन्तर आक्रोश ब्यक्त गरिरहेका छन् ।

हिमानीले लिङ्देनलाई सामाजिक सञ्जालमार्फत दिएको बधाई तथा शुभकामनाप्रति थापाले कटाक्ष गर्दै अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना भनेका छन् ।

हिमानीको ट्वीटरमा लेखिएको छ, ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना । राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।’ उक्त बधाइप्रति थापाले कटाक्ष गरेका हुन् ।

पराजित भएलगत्तै आइतवार बिहानै निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका थापा फेरि हिमानीमाथि खनिएका हुन् । पराजयलाई सहर्ष स्वीकार गरेको प्रतिक्रिया दिएका थापा आइतबार बिहानै सामाजिक संजालमार्फत पूर्वराजा ज्ञानेन्द्रमाथि आक्रोश पोखेका थिए । 

उनले लेखेका थिए, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । धन्यवाद । मैले राहत र उन्मुक्ति पाएको छु ।’

उनले पूर्वराजा ज्ञानेन्द्रप्रति असन्तुष्टि जनाउँदै पराजय आफ्नो लागि पुरस्कार भएको पनि प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना।’

मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका लिङ्देनले थापालाई १६७ मत अन्तरले पराजित गरेका हुन् । 

पराजयपछि थापा र ज्ञानेन्द्र शाहबीच सम्बन्ध सुमधुर नरहेको स्पष्टै भएको छ । जसका कारण नेपाली राजनीतिमै एक किसिमको तरंग छाएको छ ।

पूर्वराजा शाहले थापासँग भेट गर्न पनि रुचाउँदैनथे । तर थापा भने पूर्वराजाको दर्शन पाउन भौंतारिइरहन्थे । दोस्रो संविधानसभासम्म सम्बन्ध राम्रै रहे पनि त्यसपछि थापाको भूमिकाप्रति शाह असन्तुष्ट रहेको बताइएको छ ।

संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा माहोल बनाउन नसकेपछि शाह थापासँग असन्तुष्ट रहेको बताइन्छ । त्यस्तै भारतीय नाकाबन्दीपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा थापा सहभागी भएपछि पनि शाह रिसाएको बताइन्छ । 

थापा तिनै हुन् जसलाई राजपरिवारले यहाँसम्म ल्याएको थियो । तर तिनै थापाले २०७२ सालको संविधानलाई संसारकै उत्कृष्ट संविधान भनी प्रतिक्रिया दिएका थिए । तिनै थापाले राजसंस्थाको एजेन्डा बोकेर भ्रम छरेको आरोप पनि लाग्ने गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ