arrow

अमेरिकासँग २८ खर्ब रुपैयाँको हतियार किन्ने सम्झौता यूएईले स्थगित गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
f-35-uae.jpg

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले अमेरिकाबाट एफ-३५ लडाकु विमान किन्ने अर्बौं डलरको सम्झौता स्थगित गरेको छ। 

अमेरिकामै निर्मित एक सिट भएको निकै नै शक्तिशाली मानिने एफ-३५ लडाकु विमान ५० वटा र अन्य सैन्य हतियारहरू किन्ने २३ अर्ब अमेरिकी डलर (करिब २८ खर्ब नेपाली रुपैयाँ) को सम्झौतामाथिको छलफल युएईले स्थगित गरेको हो।

वासिङ्टन स्थित यूएईको दूतावासले अमेरिकाले यो सम्झौतामा हुने भनिएको छलफल भोलिका दिनमा पुन अघि बढ्न सक्ने गरी स्थगित गरिएको जनाएको छ।

'यूएईको आवश्यकता परिपूर्ति गर्न अमेरिका प्राथमिकताका साथ सहयोग गर्दै आएको छ, एफ-३५ सम्झौतामाथिको छलफल भविष्यमा पुन खोल्न सकिनेछ,' दूतावासले भनेको छ।

दूतावासले रोयटर्स समाचार एजेन्सीलाई 'प्राविधिक आवश्यकताहरू, सार्वभौम परिचालन प्रतिबन्धहरू, र लागत लाभ विश्लेषणले सम्झौताको पुन मूल्याङ्कन गर्नतिर धकेलेको' बताएको छ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यूएईलाई २३ अर्ब अमेरिकी डलरको हतियार बेच्ने सम्झौता अघि सारेको थियो। 

यो सम्झौतालाई बहराइन, मोरक्को र यूएईले इजरेलसँग औपचारिक सम्बन्ध स्थापना गर्न ट्रम्पले खेलेको मध्यस्थताको भूमिकासँग समेत जोडिएर हेरिएको थियो।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलेले यूएईका सर्वोच्च नेता क्राउन प्रिन्स मोहम्मद बिन जायेदलाई अबुधाबीमा भेटेको पछिल्लो दिन यो सम्झौता निलम्बन भएको हो। केही दिनअघि यूएईले फ्रान्सबाट १९ अर्ब डलरमा ८० वटा 'राफेल' लडाकु विमान किन्ने सम्झौता समेत गरेको छ।

अमेरिकाले एफ ३५ लाई आफ्नो विशेष हवाई सैन्य शक्तिका रूपमा मान्ने गरेको छ। यो प्रविधि चिनियाँ जासुसीले चोर्न नसकोस् भन्ने चाहनाले यूएईमा चिनियाँ प्रविधिको पहुँचलाई अमेरिकाले नियन्त्रित गर्न खोजेको छ। 

खास गरी यूएईले प्रयोग गरिरहेको चिनियाँ हुवावे कम्पनीकाे दूरसञ्चार पूर्वाधारलाई लिएर समेत अमेरिका चिन्तित छ।

चीनले भविष्यमा आफ्ना यस्ता पूर्वाधारबाट सुरक्षा खतरा उत्पन्न गराउने अमेरिकालगायतको मुलुकहरूको चिन्ता छ। यसका केही उदाहरणहरु समेत देखिइसकेका छन्।

यो सबका बीचमा यूएईले यति ठुलो रकमको सैन्य हतियार सम्झौता स्थगित गर्नुलाई विशेष किसिमले हेरिएको छ ।

अमेरिकाले यूएईसँग उब्जेका प्रश्नमा जवाफ एवं हेरफेर गरेर सहकार्य गर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ