arrow

‘जे हुनु भइगयो विजयदाइ’

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ पुष १ बिहिबार
gachhedar.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यसपालि वडा तहदेखि नै पहिलो पटक भएको निर्वाचनमा मत परिणामहरु फरक फरक आएका छन् । 

कतै बराबरी हुँदा आधा आधा कार्यकाल भूमिका निभाउने गरी सहमति पनि बनेको छ भने कतै एक दुई मतले पराजित हुँदा पुनः मतगणनाको माग पनि भएको छ । बराबरी हुँदा पुनः गणना हुँदासमेत पनि बराबरी नै मतसमेत आएको अवस्था पनि रह्यो । 

चर्चामा भने अहिले केन्द्रीय उपसभापतिका लागि भएको निर्वाचनमा विजयकुमार गच्छदारको रहेको छ । गच्छदार जम्मा दुई मतले पराजित भए । उपसभापति दुई जना निर्वाचित हुनेमा पूर्णबहादुर खड्काले भारी मत ल्याए । दोस्रो भएका धनराज गुरुङ र तेस्रो भएर पराजित भएका गच्छदारबीच केबल दुई मतको फरक पर्यो । अनि गच्छदारले निर्वाचन समिति गुहारे । 

संस्थापनको उम्मेदवार बनेर भारी मतले जितेका खड्का र सोही समूहबाटै लडेर तेस्रो हुन पुगेका गच्छदारले निर्वाचन समिति गुहार्नु स्वभाविकै पनि हो । उनको दाबी हो कि एउटै गुटबाट एक जनाले भारी मत ल्याउने र आफू दुई मतले हार्नुपर्ने । यसमा पक्कै पनि मतगणनामा गल्ती भएको हुन सक्ने उनको दाबी हो । 

तर जिल्ला कार्यसमितिको निर्वाचनमा सुनसरी जिल्ला सचिवमा सन्जेश भट्टराई १ भोटले पराजित भए । प्रदेश १ को सभापतिको भिडन्तमा गुरुराज घिमिरे २ मतले पराजित भए । 

यसपालि ठूलो पदमा गच्छदार २ मतले पराजित भए । त्यतिबेला घिमिरेले २ मतले हार्दा गच्छदारले नै ‘पार्टीभित्रको चुनाव हो जे हुनु भइगयो’ भनेका थिए । 

अहिले गच्छदार स्वयंलाई पर्यो । गच्छदारज्यू ‘जे हुनु भइगयो यो पार्टीभित्रको चुनाव हो ।’ 

गच्छदार पनि मतगणनाबाट सन्तुष्ट हुनुपर्छ । यो त पार्टीभित्रको चुनाव पो त ! 

जसरी संस्थापनबाट खड्काले भारी मत ल्याए त्यसै आधारमा गच्छदारले ल्याउन सकेनन् । यहाँभित्र भने खड्काको व्यक्तिगत क्षमता र समूहभित्रको सत्प्रतिशत साथको पनि प्रसङ्ग जोडिने नै भयो । 

गच्छदारले यसमा पक्कै पनि सजग हुनुपर्ने देखियो । अर्कातिर गच्छदार विरलै चुनाव हार्ने मानिस । 

गच्छदारसँग ‘उप’ जोडिएको पद निकै नै फापसिद्ध भएको थियो । सबैभन्दा बढी समय उपप्रधानमन्त्री त उनैले पाए होलान् । सरकारमा पनि उनै गए होलान् । यसपालि भने उप फापेन । उपसभापतिमा पराजित भए । 

जे हुनु भइगयो गच्छदारज्यू यो त पार्टीभित्रको चुनाव पो त !

गच्छदार कांग्रेसका पुराना नेता हुन् । पार्टीमा उनको योगदान ठूलो छ । तर उनले २०६२–०६३ को आन्दोलनपछि अचानक पार्टी छाडे । मधेस केन्द्रीत पार्टी खोले । त्यसमै रमाए । त्यतिमात्र हैन कम्युनिष्ट विचारधाराबाट प्रेरित उपेन्द्र यादवको पार्टीसँग पार्टी एकता गरे । 

तर एकता धेरै टिकेन । पार्टी फुट्यो । विविध चरणपछि फेरि गच्छदार घर फर्के । अर्थात् भौँतारिँदै फेरि कांग्रेसभित्र आए । 

समाहित हुँदा उनले उपसभापतिको पद पाएका थिए । उनको चाहना फेरि पनि उपसभापति नै हुने थियो । त्यसैले पनि उनी यो पदमा उठ्नु स्वभाविकै हो । 

तर पहिले जस्तो शाख नहुनु स्वभाविकै पनि हो । पहिलेको ब्याज खान अहिले मिलेन । अब उनले फेरि पार्टीभित्र योगदान दिनुपर्ने देखिएको छ । 

उनी अनुभवी नेता हुन् । आफ्नो बलबुँताले सक्षम भएका नेता पनि हुन् । उनी फेरि आफ्नो ओजलाई कायमै राख्न सक्छन् । 

राजनीतिमा एक पटक हार्दैमा सबै कुरा गुम्दैन । तर मेहनत पक्कै गर्नुपर्नेछ । उनले ल्याएको मत उपसभापतिका लागि अपुग भएकोमात्र हो । 

पाएको मत भने सम्मानजनक हो । तसर्थ यही सम्मानजनक मतको कदर गर्दै गच्छदारले पार्टीमा थप योगदान दिनुपर्नेछ । 

अब आम निर्वाचन पनि नजिकिँदै छ । त्यसका लागि तराईमा पकड बलियो भएका गच्छदारले पार्टीलाई एक नम्बर बनाउन अझ बढी नेता कार्यकर्तालाई लिएर हिँड्नु पर्नेछ । 

आम निर्वाचनमा भने सशक्त भएर पार्टीका लागि जित्नुछ । यसपालि यस्तै भयो । जे हुनु भइगयो गच्छदारज्यू यो त पार्टीभित्रको चुनाव पो त !

केहीले त लेखेका पनि छन्, ‘‘जे हुनु भइगयो विजयदाइ’ । हो जुन शब्दले पुकारे पनि यसपालिलाई हार भएकै हो । तर यस हारलाई शक्तिमा बदलेर युवा कांग्रेसी जमातलाई उदाहरणीय बन्नु पर्नेछ । उनीहरुलई उर्जा दिनुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ