- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विद्युत् खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार,गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमान्ड)तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।
आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिए जति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ ।
विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठुला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठुलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो ।
विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । उदाहरणका मंंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युतको पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत वृद्धि भएको छ ।
मङ्सिर २७ गतेको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युत गृहहरुबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरुबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यका कोसहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ ।
ऊर्जाका मागका आधारमा आधारमा मङ्सिर २७ गते विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठुलो उपलब्धी भएको बताए ।
‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘विद्युतको माग अहिलेकै रूपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ ।’
घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए ।
कार्यकारी निर्देशक घिसिङ आफैँले मुलुक भित्रका मुख्य औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीहरूलाई चाहिए जति विद्युत् लिन आग्रह गर्दै आउनुभएको छ ।
प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।
दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठुला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।
प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।