arrow

शशांकको अनुहारमा वीपीको छायाँ, कांग्रेसका प्रतिनिधिको सर्वाधिक माया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
shashank-koirala-final1.jpg

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्री पदमा कोइराला परिवारबाट डा शशांक कि डा शेखर भन्नेमा दुविधा थियो । लामो समयको रस्साकस्सीपछि शेखरले शशांकलाई छाडिदिए र आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । शशांकले महामन्त्रीमा बाजी मारे । सोही महाधिवेशनमा आएका प्रतिनिधिहरुले ‘शशांकमा वीपीको अनुहार’ देखे र मत दिए । 

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सुपुत्र भएका नाताले उनले राजनीतिमा उचाइ लिए । कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गर्ने एकमात्र उम्मेदवार आफूमात्र भएको भनेर सभापतिको दौडमा रहेका शशांक संस्थापन इतर पक्षमा समीकरण नमिल्दा केन्द्रीय सदस्यमा चुनाव लडे । अनि सर्वाधिक मत पाएर विजयी भए । 

सभापतिमा उम्मेदवारी दिएका देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलमा परेका उनले ३८३६ मत ल्याए । उनले खसेको मतमध्ये लगभग ८० प्रतिशत मत पाए । राजनीतिमा त्यति लामो समय योगदान दिन नभ्याएका चिकित्सक शशांक आखिर किन सबैका प्रिय बने रु यो प्रश्नको जवाफ आम कार्यकर्तामा खड्किरहेको छ । 

धेरै नबोल्ने तर शुभेच्छुक तथा कार्यकर्ताका अघिल्तिर मुसुक्क हाँसेर शुभेच्छा प्रकट गर्ने उनको शैलीले धेरैलाई प्रभावित बनाउने गरेको छ । नेपालमा हिन्दूराष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने र कांग्रेसलाई गुटविहीन बनाउनु पर्ने अभिव्यक्ति दिंदै आएका उनी कांग्रेसको सक्रिय राजनीतिमा आएको लामो समय भएको छैन ।

२०१५ साल कार्तिक ८ गते मोरङको विराटनगरमा जन्मेका उनी २०४६ सालको जनआन्दोलनताका मात्र कांग्रेसको राजनीतिमा देखिएका थिए । उनी नेत्र विशेषज्ञ हुन् ।

२०४६ सालको सडक आन्दोलनमा उनी पेशाकर्मीकै रुपमा सडकमा थिए । कोइराला परिवार र कांग्रेसको राजनीति बुझेका लेखक हरिविनोद अधिकारी शशांकलाई शालीन र भद्र नेताका रुपमा चित्रण गर्छन् । 

‘उनी कसैलाई बिझाउँदैनन् । कसैलाई बिगारेको पनि मलाई याद छैन । त्यसैले सबैका प्रिय छन्,’ उनी भन्छन्, ‘शशांकलाई भाग्यले खाएका नेता मान्दा पनि फरक पर्दैन । कुनै दिन उनी प्रधानमन्त्री भए भने पनि अचम्म नमान्दा हुन्छ ।’

हुन पनि शशांक लडेको चुनाव हारेका पनि छैनन् । जति चुनाव लडे सबैमा निर्वाचित हुँदै आएका छन् । राजनीतिक यात्रामा पछाडि फर्केर हेर्नु परेको छैन ।

नवलपरासीबाट संविधानसभामा दुई कार्यकाल विजयी भइसकेका उनी २०६२ भदौमा भएको ११ औं महाधिवेशनताका मात्र वीपी कोइराला मेमोरियल अस्पतालको जागिरबाट राजीनामा दिएर राजनीतिमा आएका थिए । सोही महाधिवेशनबाट पहिलो पटक उनले केन्द्रीय सदस्यमा बाजी मारे । 

डेढ दशकको राजनीतिक यात्रामा लडेका चुनावहरुमा उनले पराजयको अनुभव चाख्नै पाएका छैनन् । २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा नवलपरासी १ बाट, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट र २०७४ को निर्वाचनमा पनि विजयी भएका उनी थोरै बोल्ने नेताका रुपमा परिचित छन् । हुनत उनको तटस्थता र सदनमा निश्प्रभावकारी भूमिकाका कारण कांग्रेसजनभित्र असन्तुष्टि पनि हुने गरेको छ ।

वीपी कोइरालाको कान्छो छोरो र कोइराला परिवारको राजनीतिक विरासत उनका लागि ‘भाग्य’ कै रुपमा सावित हुने गरेको छ । सांसद तथा कांग्रेस महामन्त्रीका रुपमा उनको भूमिका प्रभावकारी नभएको, तीन पटक सांसद हुँदा सदनमा मुस्किलले आधा दर्जन पटकमात्र बोलेको र संगठनको मुख्य जिम्मेवारी पनि प्रभावकारी ढंगले नसम्हालेको भनेर आलोचना हुने गरेको छ । तर ती सबै आलोचनाहरुलाई सहज रुपमा लिने गरेका उनी कार्यकर्ताहरुका लागि सजिला र प्रिय नै छन् ।

शशांक कांग्रेसका अन्य नेताहरुजस्तो जेलनेल भोगेका नेता होइनन् । तर दोस्रो जनआन्दोलनमा भने पटक पटक पक्राउ परेका थिए । २०१७ सालदेखि २०३६ सालसम्म निर्वासन र अध्ययनमा बिताएका उनको बाल्यकाल त्यति सुखद थिएन । उनी शिशु अवस्थामै रहँदा बुबा वीपी जेल परेका थिए । 

वीपीले धेरैजसो समय राजनीति र जेलमा बिताएकाले बुबाको ममता पर्याप्त रुपमा उनले पाएनन् । भारतमा एमबीबीएस पढ्दै गर्दा थाई युवती शुपात्रा भाटियासँग प्रेममा परेर पछि नेपालमा आएर विवाह गरेका उनी साधारण जीवयापन गर्न रुचाउँछन् ।

तिनै सरल जीवन रुचाउने शशांकको साधारण जीवनयापनबाटै कांग्रेसी नेता कार्यकर्ता लोभिएका छन् । कांग्रेसभित्र वीपीको सिद्धान्तको खोजी हुन्छ । यही सिद्धान्तको प्रवद्र्धनका लागि पनि शशांक लडिदिए हुन्थ्यो भन्ने अपेक्षा धेरैबाट छ । 

वीपी २०३९ सालमा बिते पनि कांग्रेसले अझै तिनै वीपीको सिद्धान्तलाई नै अंगीकार गरेको बताउँछ । त्यसलाई परिमार्जन गरी समय सापेक्ष ढाल्नसमेत सकेको छैन । अर्थात् वीपी दूरदर्शी नेता भएको यसबाट पनि स्पष्ट हुन्छ । अब वीपीको सच्चा बिँडो थाप्ने काम शशांकले गरुन् भन्ने सबैका कामना हुन सक्छ । 

मतदाताको मतको पनि कदर गर्दै यसको खोजीतर्फ शशांक लाग्दा लोकतन्त्रको पनि रक्षा हुन्थ्यो कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ