arrow

बाँकेको नरैनापुरमा सुरु भयो दलित निगरानी केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
bake-dalit-nigrani.jpg

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा दलित निगरानी केन्द्र भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । दलित समुदायको हक अधिकार स्थापित गर्दै उनीहरूको उत्थान र विकासका लागि गाउँपालिकाको सहयोगमा भवन बनेको हो।

दलितका सवालमा छलफल गर्ने थलोका रूपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । नरैनापुरमा क्रियाशील दलित सङ्घर्ष समिति र तराई दलित विकास मञ्चको अग्रसरतामा भवन बनेको हो । नरैनापुरमा बनेको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै पहिलो भएको दाबी गरिएको छ।

भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले सबै समुदाय मिलेर नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ लाग्न आह्वान गरे । उनले दलित समुदायको उत्थानका लागि आफू सधैँ क्रियाशील रहेको बताउँदै उनले समुदायका सबै जातजाति, वर्ग, लिङ्ग र सम्प्रदायको लागि सबैले हातेमालो गर्नुपर्ने बताए । 

अध्यक्ष शाहले दलित निगरानी केन्द्रलाई मजबुत बनाउन गाउँपालिकाको कृषि शाखामार्फत एम्बुलेन्स प्रदान गर्ने घोषणा समेत गरे । अध्यक्ष शाहले गरिब विपन्न दलित समुदायका बालबालिकाका लागि विद्यालय पोसाक उपलब्ध गराउने बताए । उनले शिक्षा आर्जनमा आफ्ना बालबालिकालाई केन्द्रित गर्न आग्रह गरे । दलित बालबालिकाको शिक्षामा सहज पहुँचका लागि आफूले हर सम्भव प्रयास गर्ने बताए ।

नरैनापुरका कांग्रेस नेता रामचन्द्र मौर्यले शिक्षा विना दलित समुदायको उत्थान सम्भव नभएकाले शिक्षामा जोड दिन आग्रह गरे । दलित महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष गजाधर सुनारले विभेद अन्त्य गरेर सामाजिक विकासका लागि हातेमालो जरुरी रहेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले दलित समुदायमा साक्षरता जरुरी रहेको बताउँदै छोराछोरीलाई स्कुल पठाउन अभिभावकहरूलाई आग्रह गरे । उनले गाउँपालिकाले निःशुल्क बस सञ्चालन गरेर बालबालिकालाई पढाइमा केन्द्रित गर्न हर सम्भव प्रयास गरेको बताए ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य हिक्मत विक, नरैनापुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, दीपेन्द्र प्राविका प्रधानाध्यापक दुर्गाप्रसाद श्रीवास्तव, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्रबहादुर विक, जयकिसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादव, भारतीय अतिथि देवधर शास्त्री, रेडियो प्रतिवोधका अध्यक्ष बुद्ध सुनार, पत्रकार नवीन गिरी, दलित मुक्त जागरण अभियान बाँकेका सचिव रामबालक पासवान, दलित एकता सञ्जाल नरैनापुरका अध्यक्ष नरेश चमारले मन्तव्य व्यक्त गरेका थिए ।

दलित सङ्घर्ष समिति नरैनापुरका संयोजक मोलहे आर्य धोबीको अध्यक्षतामा भएको कार्यक्रममा धोबीलाई गाउँपालिकाका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भवनको चाबी हस्तान्तरण गरेको दलित सेवा सङ्घ नरैनापुरका अध्यक्ष सियाराम धोबीले जानकारी दिए । कार्यक्रमको सञ्चालन जयकिसान माविका शिक्षक अरुण यादवले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ