- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माओवादी केन्द्रले पार्टीलाई बहु पदीय संरचनामा लाने भए पनि एमालेकै विधानको नक्कल गरेको छ। माओवादीभित्र अध्यक्ष पछिको वरियता निर्धारण, तथा अन्य पदाधिकारीहरूको समेत निर्धारण गर्न एमालेकै विधानको नक्कल गरेको हो। आज शुक्रवार बसेको स्थायी कमिटी बैठकमा माओवादीका नेताहरूले वरिष्ठ उपाध्यक्षसहितको व्यवस्था गरेर जानुपर्ने धारणा राखेको र त्यसलाई राष्ट्रिय सम्मेलनको हलमा पेस गर्ने जनाएका थिए।
शुक्रवार बसेको स्थायी कमिटीमा बैठकमा पदाधिकारी सङ्ख्या ५ बाट बढाएर १५ पुर्याउने प्रस्ताव गरिएको थियो। त्यसमा अध्यक्ष प्रचण्डले मौन स्वीकृति जनाइसकेका छन्। पार्टी बहु पदीय संरचनामा जाँदै छ, पदाधिकारी सङ्ख्या बढाएर १५ सदस्यीय पुर्याइयो भने नेताहरूको व्यवस्थापन गर्न पनि सहज हुन्छ भन्ने हेतुले पदाधिकारी बढाउने प्रस्ताव आएको छ’, बैठकमा सहभागी एक नेताले भने।
उनका अनुसार पार्टीलाई नयाँ रूपमा अघि बढाउन पाँच जना पदाधिकारीले अपुग भएको हुँदा सङ्गठन चलायमान बनाउन पनि पदाधिकारी बढाउनुपर्ने प्रस्ताव आएको हो। माओवादीभित्र मुख्य नेतृत्व बाहेक सबै पदमा धेरै नेताहरूको दाबी रहेका कारण पनि अहिलेलाई पदाधिकारीहरूको सङ्ख्या बढाउनु पर्ने बाध्यता रहेको नेताहरूले जनाएका छन्।
यसअघि माओवादी केन्द्रले तयार पारेको विधानमा ५ जना मात्रै पदाधिकारी रहने व्यवस्था थियो। सोही विधानलाई संशोधन गरेर प्रदेश र जिल्ला तहमा पदाधिकारी र सदस्य सङ्ख्या निर्धारण गरेको थियो। अहिले केन्द्रमा राष्ट्रिय सम्मेलन गर्ने भएकाले हलबाटै पदाधिकारीहरूको सङ्ख्या निर्धारण गर्ने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताएका छन्। ‘के कति पदाधिकारी बनाउने भन्ने बारेमा राष्ट्रिय सम्मेलनको हलबाटै निर्धारण हुन्छ, अहिले सामान्य छलफल मात्रै भएको हो’, कार्यालय सचिव ढकालले भने। अबको सम्मेलनबाट आउने नेताहरूले माओवादी केन्द्र हाँक्ने भएकाले पनि नेतृत्वमा आउन रस्साकस्सी चलेको हो। ‘पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनमा यो प्रस्ताव अघि सारेर त्यहीँबाट विधान संशोधनसहित पदाधिकारी सङ्ख्या १५ जना बनाउन प्रस्ताव अघि सारिएको छ’, बैठकमा सहभागी ती नेताको भनाई छ।
स्रोतका अनुसार स्थायी कमिटीमा गरिएको प्रस्ताव अनुसार एक अध्यक्ष, वरिष्ठसहित सात जना उपाध्यक्ष, तीन जना सचिव, एक जना महासचिव, एक जना उपमहासचिव र कोषाध्यक्ष एक जना बनाउने प्रस्ताव आएको गरिएको छ। अहिले एमालेमा १९ सदस्यीय पदाधिकारी रहेको छ। तर माओवादीले त्यो भन्दा ४ सदस्य कम गरी प्रस्ताव गरेको छ। तर पुरै संरचना भने एमालेभन्दा भिन्न नभएको माओवादी नेताहरूले बताएका छन्।
नारायणकाजी श्रेष्ठले महासचिवमा दाबी गरेपछि उनका लागि वरिष्ठ उपाध्यक्ष राखिएको बताइन्छ। एकता केन्द्रबाट पछि पार्टीमा आएका कारण जनयुद्ध लडेका नेताहरूले श्रेष्ठलाई पार्टीको मूल चाबी दिने पक्षमा नभएपछि माओवादीका अध्यक्ष प्रचण्ड पनि अलमल परेका छन्। प्रचण्डपछिको उत्तराधिकारी को भन्ने होडबाजी चलेका बेला माओवादीका हालका प्रवक्ता कृष्णबहादुर महराले पनि वरिष्ठ उपाध्यक्ष पदमा दाबी गर्ने स्रोतको भनाई छ।
तर आफ्नै पार्टीको कार्यकर्ता तथा संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कारण उनका लागि त्यति सहज नभएको नेताहरूले जनाएका छन्। उता पम्फा भुसालले पनि महासचिवमा दाबी गरेकी छिन्। वर्षमान पुन र जनार्दन शर्माले महासचिव दाबी गरेको लगत्तै शुक्रबारको स्थायी कमिटी बैठकमा कार्यकारी पदमा महिला हुनुपर्ने र आफू प्रचण्डपछिको नेता भएकै कारण महासचिवमा उपयुक्त उम्मेदवार भएको दाबी गरेकी थिइन। भुसाल, पुन र शर्माका अतिरिक्त हरिबोल गजुरेलले र शक्ति बस्नेतले पनि महासचिवमा दाबी गरेका छन्।