arrow

कांग्रेस केन्द्रीय कार्यसमितिमा १६ जिल्ला सदस्यविहीन, मनोनितमार्फत समेट्न नेतृत्वलाई दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
congress-country.jpg

काठमाडौंं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले केन्द्रीय कार्यसमितिमा १३४ जनालाई निर्वाचित गरिसकेको छ । यी निर्वाचितमध्ये सबैभन्दा धेरै काठमाडौं र कैलालीका समान ७–७ जना परेका छन् । त्यस्तै धनुषा जिल्लाबाट ६ जना पर्दा झापा र चितवनबाट ५–५ जना निर्वाचित भएका छन् । 

१३४ जनामा १६ जिल्लाबाट भने एक जना पनि केन्द्रीय कार्यसमितिमा पर्न सफल भएनन् । जसमा कालिकोट, डोटी, ताप्लेजुङ, पर्वत, पाल्पा, पूर्वी रुकुम, बैतडी, मुगु, मुस्ताङ, म्याग्दी, रामेछाप, रोल्पा, रौतहट, लमजुङ, सर्लाही र सल्यानबाट कोही पनि केन्द्रीय कार्यसमितिमा आउन सकेनन् । 

यसका लागि सबै जिल्लाबाट समेटिनुपर्छ भन्ने दबाब नेतृत्वलाई दिइएको छ । त्यो विकल्प अब मनोनित हुन बाँकी रहेका ३३ जनाबाट समेट्नु पर्नेछ । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । १३४ जना निर्वाचित भइसकेको अवस्थामा अब ३३ मनोनित हुनेछन् । 

यीभित्र १६ जिल्लाका महाधिवेशन प्रतिनिधिमध्येबाट नेतृत्वले समेट्नु पर्नेछ । विधानको बुँदा २१ को १० नम्बरमा भनिएको छ, ‘कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ ।’

यो बुँदालाई नै टेकेर नेतृत्वले ३३ जना मनोनित गर्नेछ । जसमा अहिलेसम्म नपरेका १६ जिल्लालाई समेट्न सकियो भनेमात्र ७७ वटै जिल्लाबाट कार्यसमिति बन्न सक्नेछ । 

कालिकोटका जिल्ला सभापति अम्बबहादुर शाहीले आफ्नो जिल्लाबाट केन्द्रीय समितिमा आउनुपर्छ भनेर नेताहरुलाई घच्घच्याइरहेको बताए । उनले आफ्नो जिल्लाबाट पनि सदस्य आउनु पर्छ भनेर दबाब दिइरहेको बताउँदै भने, ‘मेरो भन्ने कर्तव्य हो भनेको छु ।’

शाहीले अगाडि भने, ‘सभापतिको दबाब दिने दायित्व हो । दिएको छु । अहिलेसम्म कालीकोटले केन्द्रीय कार्यसमितिमा पाएको छैन । मैले दबाब दिएको छु ।’ 

त्यस्तै बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले पनि आफ्नो जिल्लाबाट केन्द्रीय कार्यसमितिमा कोही प्रतिनिधि पर्नु राम्रो हुने बताए । उनी भन्छन्, ‘यो सभापतिको नितान्त विचार हो । तर पनि साथीहरु कोही पर्नु भयो भने राम्रो हुन्थ्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ